• १२ साउन २०८१, शनिबार

बजारमा बढ्दै बदमासी

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ २ गते । खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

विभिन्न निकायले अनुगमन गरी कैफियत भेटिएमा आवश्यक कानुनी कारबाही अघि बढाए पनि बजारको बेथिति कम हुन सकेको छैन । खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख डा. क्षितिज श्रेष्ठले बजारमा बदमासी हुने क्रम नरोकिएको बताउनुभयो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक गतिविधिको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार चालु आवको हालसम्म ३३३ पटक बजार अनुगमन गरिएको छ । पहिलो त्रैमासिकमा १५०, दोस्रो त्रैमासिकमा ५७ र तेस्रो त्रैमासिकमा १२६ पटक गरी ३३३ पटक बजार अनुगमन गरिएको छ ।