• ९ मंसिर २०८१, आइतबार

कर्णालीको सगुन पोल्टाभरि

blog

प्रभा बराल

 ‘यात्राले पहिले तिमीलाई निःशब्द बनाएर छाड्छ र पछि तिमीलाई कथावाचकको रूपमा परिणत गर्छ ।’ तेह्रौँ शताब्दीका मोरक्कोका महान् यात्री इब्न बतुताको यो भनाइले हरेक यात्रीलाई प्रेरणा दिन्छ । उनले २१ वर्षकै उमेरमा घर छाडेर मध्य एसिया, दक्षिण एसिया, युरेसिया देशहरू घुमे । घुमेर घर फर्केपछि आफ्ना अनुभूतिहरू सबैलाई सुनाउन थाले । तत्कालीन समयमा अरू कसैले गर्न नसकेको काम उनले गरेको र त्यति धेरै ठाउँमा उनी पुगेकोले उनमा दैवी शक्ति रहेको विश्वास गरियो । उनले सुनाएका यात्रानुभूतिलाई सम्मान गर्दै उनलाई मोरक्कोका जनताले देवताको स्थानमा नै राखे । उनले आफ्नो यात्रा संस्मरणलाई ‘रिहाला’ नामक पुस्तकमा उतारे । उक्त पुस्तक अत्यन्त लोकप्रिय भयो । बतुताको यात्राले तारतम्यता मिलाउँदाको झन्झटलाई मलम लगाइदिन्छ र कठिन गन्तव्य सम्झेर मुर्झाउन थालेको अनुहार र पाइलामा जोश र जाँगरको तरङ्ग उत्पन्न गरिदिन्छ । 

साहित्यकार प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’ नियात्रा कृतिको नामैले पनि पाठकलाई उज्यालो बनाउँछ । कर्णाली ठूलो अञ्चल हो । त्यहाँ कुसंस्कार छ, रुढिवाद छ भनेर सुन्दै आएका छौँ । यही आधारमा दुर्गम भनेर देशको विकास बजेट पनि बर्सेनि धेरै छुट्याइने गरिन्छ तर विकास शून्य छ । किन ? यो किताब पढेपछि कर्णालीभित्रको अँध्यारो फाटेर उज्यालो भएको महसुस हुन्छ । पुरानो धारणा फेरिदिने शक्ति पुस्तकमा छ । फूलको आँखामा फूलै संसार देख्ने हो भने कर्णाली समस्या होइन, बरु समग्र नेपालको मुहार फेर्ने समाधान हो भन्ने कुरालाई अनेकन प्रमाणहरू दिएर यहाँ उल्लेख गरिएको छ । 

पुस्तकले कर्णालीका जनता र समग्र नेपालको पर्यटन क्षेत्रबारे फरक ढङ्गबाट सोचेको छ । कर्णालीलाई सदैव पछौटेपनको फुँदो गाँसेर राजनीतिको नारा बनाइरहनेहरूप्रति लेखकको गम्भीर चिन्ता र चासो व्यक्त भएको देखिन्छ । सके सबैले यो क्षेत्रको विकास गरौँ, सकिँदैन कर्णालीको दुरवस्थालाई मुख्य मुद्दा बनाउँदै असक्षमता प्रकट नगरौँ भन्ने लेखकको आग्रह छ । कर्णालीको सांस्कृतिक सम्पन्नता, प्राकृतिक मनोहारिता, खस आर्य संस्कृति, पुराताìिवक सम्पदा र समग्र ऐतिहासिक महत्त्वको कथालाई हामी किन आँखा चिम्लन्छाैँ ? प्रकृतिले दिएको अथाह भण्डारलाई परिचालन गर्न नसक्ने हामी नै होइनौँ ? फेरि किन स्थानलाई दोष दिन्छाँै भन्ने कुरालाई लेखकले आफ्नो लेखनीमार्फत प्रश्न गर्नुभएको छ । 

जुम्ला आफ्नो भ्रमणको चौहत्तरौँ जिल्ला हो भन्दै उहाँ सर्वप्रथम जुम्ली हात जोडेर जुम्लालाई प्रेम प्रकट गर्नुहुन्छ । यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक पाटो, जनजीवन र ऐतिहासिक महìवका पत्रहरू केलाउनु हुन्छ । कालीकोट हुँदै मुगुको रारा तालमा पुग्नुभएका लेखक राराको मनमोहक मोहनी जादुमा उस्तै लट्ठ पर्नु हुन्छ । चारैतिरबाट ताललाई नियाल्नु हुन्छ । 

रारा ताललाई अझ गहिरिएर हेर्न र यसको सौन्दर्यमा चुर्लम्म डुब्न लेखक मुर्माटपतिर लाग्नुहुन्छ । म.वी.वि शाहको ‘राराकी अप्सरा’ लाई सम्झिनु हुन्छ । कर्णालीसँग यति धेरै प्रकृतिको खानी छ । सिञ्जा सभ्यताको जग यहीँ छ । जडीबुटीको खानी यहीँ छ । प्रसिद्ध पर्यटकीय क्षेत्र मानसरोवर जाने बाटो यहीँबाट छ । बुद्धि र बल भएका जनशक्ति नहुने कुरै भएन । यति हुँदाहुँदै पनि कर्णालीलाई वर्षौंर्षदेखि किन अँध्यारो बनाइयो ? कर्णाली पछि प¥यो है भनेर किन रोइलो मच्चाइयो ? के हाम्रै इच्छाशक्तिको कमी होइन यो क्षेत्र पछि पारिनुमा ? उहाँ गम्भीर भएर कर्णालीका डाँडापाखा, ताल तलैया, हिमाल पर्वततिर नजर डुलाउँदै मौन वार्ता गर्नु हुन्छ । बडो भावुक बन्छन् छातीमा देश दुख्दा । अथाह सम्भावनाका क्षितिजहरू हुँदाहुँदै हामी किन यति धेरै लाचारी प्रकट गरिरहेछौँ भनेर चिन्तासमेत प्रकट गर्नुहुन्छ । यति सुन्दर तालको नजिक खोई प्रशस्त होटलहरू ? खोई पर्यटकका लागि लोभ्याउने संरचनाहरू भन्दै उहाँ प्रशस्त पर्यटक भित्र्याउन सक्ने सम्भावनाको खोजीमा लाग्न धेरै ढिला भइसकेको राय प्रकट गर्नु हुन्छ ।  जीवन दर्शनका विभिन्न आयामबारे जानकार लेखक भएर होला बौद्धिक लेखनको कसीले पुस्तक पठनीय बनेको छ । पाठकलाई लोभ्याउन सक्ने भाषिक कला छ । सरर बगेको काव्यात्मक भाषा छ । पुस्तकभरि प्रसङ्ग मिलाएर कर्णाली संस्कृतिका लोकलयका गीति अंशहरू ठाउँ ठाउँमा आइरहन्छन् । कतै मागल गीत गाइन्छ, कतै देउडा गीत घन्काइन्छ । किताबमा वर्णन मात्र छैन, विश्लेषण पनि छ । नियात्रा होइन, कविता वा आख्यान पो पढेको छु कि भन्ने भान पाठकलाई पर्छ ।

आफ्नो यात्रा अनुभूति इमानदारीपूर्वक लेखिएको भन्ने कुरा पुस्तकका हरफ हरफबाट बुझ्न सकिन्छ । जुम्ला, मुगुसँगै कालीकोट, दैलेख भ्रमणका महत्त्वपूर्ण  सन्दर्भहरू पनि उस्तै गहन भावले आएका छन् । अनुभूतिको सघनताले पाठकलाई बेस्सरी तान्छ । पुस्तक अनुसन्धानमय लाग्छ ।

समग्रमा ‘त्यो उज्यालो कर्णाली’ पुस्तक पढ्दा एउटा साधारण मानिसको घुमाइ र लेख्ने मान्छेको घुमाइ बारेको अन्तर सर्लक्क छुट्टिएको महसुस हुन्छ । आफ्ना घुमाइका प्रत्येक पलहरू सञ्चित गरेर लेखिने यस्ता पुस्तकले पाठकलाई फाइदा त पुग्छ नै समग्र नियात्रा साहित्यमा पनि महत्त्वपूर्ण  योगदान पुग्छ । कर्णालीमाथि कसैले लेख्दै गरेको छ भने प्रस्तुत पुस्तक सन्दर्भग्रन्थ हुन सक्छ । शिखा बुक्सले प्रकाशन गरेको यस कृतिको मूल्य ३६५ रुपियाँ रहेको छ ।