काठमाडौं, जेठ १ गते। सरकारले विभिन्न राजनीतिक आन्दोलनका घाइते तथा अपाङ्गको दिगो समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिने बताउनुभयो।
उहाँले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गरिने बताउनुभयो।
यस्तै, शान्ति प्रक्रिया र द्वन्द्व रूपान्तरणका क्रममा भएका सहमति, समझदारी एवम् सम्झौताको एकीकृत अभिलेख तयार गरिनेछ।
सशस्त्र द्वन्द्वका, जनआन्दोलनमा घाइते तथा अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगार आदि सहायता उपलब्ध गराइ पुनर्स्थापना गर्न शान्ति कोषको स्थापना गरिनेछ।