• २५ पुस २०८१, बिहिबार

कन्यामको चिया टेष्टिङ सेन्टरलाई नाष्टले प्राविधिक सहयोग गर्ने

blog

सूर्योदय नगरपालिकाको कन्याममा निर्माण भएको चिया परीक्षण केन्द्रको अवलोकन गर्दै नाष्टका उपकुलपति प्राध्यापक डाक्टर दिलीप सुब्बा , सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईसहितको टोली । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), जेठ १ गते । इलामको कन्याममा निर्माण भएको चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले प्राविधिक सहयोग गर्ने भएको छ । चियाको राजधानीको रुपमा परिचित सूर्योदय नगरपालिकाको कन्याममा कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा देशमै पहिलो पटक निर्माण भएको केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने प्रविधि जनशक्ति नाष्टले उपलब्ध गराउने भएको छ । 

२३ करोड रुपियाँको लगानीमा निर्माण सम्पन्न भएको केन्द्रका लागि कोशी प्रदेश सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गरेको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराले जानकारी दिनुभयो । केन्द्रको निर्माण सम्पन्न भए पनि केन्द्रलाई आवश्यक पर्ने उपकरण र प्राविधिक जनशक्तिको अभाव थियो ।

नाष्टले सुनसरीको धरानमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएपछि चियासहितका कृषिबाली र खाद्यबालीको प्राविधिक अवस्था बुझिरहेको छ । 

नाष्टले इलामको सूर्योदय नगरपालिकामा चिया उद्योगी किसान र नगरपालिकासँग पहिलो चरणमा संवाद गरेको छ । नाष्टका उपकुलपति प्राध्यापक डाक्टर दिलीप सुब्बाले नाष्टको काम नै प्रविधिमा सहयोग गर्ने भएकाले कन्याको चिया परीक्षण केन्द्रका लागि आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले परीक्षण केन्द्रका लागि विभिन्न उपकरण आवश्यक पर्ने बताउनुभयो । ‘उपकरण भएमा तत्काल चिया परीक्षण गर्नका लागि हामी प्राविधिक जनशक्तिको व्यवस्था गर्न सक्छौं, उपकुलपति सुब्बाले भन्नुभयो । 

नाष्टले पहिलो चरणमा चियाको प्राविधिक पक्षका विषयमा छलफल गरेको छ । प्राविधिक रुपमा नेपालको चिया कहाँ चुकेको छ भन्ने पत्ता लगाउन नाष्टले पहल सुरु गरेको नाष्टका सचिव डाक्टर रविन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । नाष्टले नगरको समन्वयमा भएको छलफलमा चिया उद्योगी र किसानले चिया लगायत कृषिबाली, खाद्य परिकारमा देखिँदै आएका समस्या राखेका थिए । चिया उद्योगी उदय चापागाईंले चियालाई अर्गानिक नगरेसम्म समस्या आइरहने बताउनुभयो । उहाँले माटो परिक्षणदेखि नेपाली चियाको जात प्रमाणीकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चिया टेष्टिङ सेन्टरमा विदेशी वायरहरु ल्याउन सके मात्र पनि नेपालको चिया विदेश निर्यात हुने जानकारी दिनुभयो ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले चिया क्षेत्रमा यावत समस्या रहे पनि संघीय र प्रदेश सरकारले समस्या समाधान गर्न नसघाएको बताउनुभयो । उहाँले नगरले चिया नीति बनाए पनि सङ्घ र प्रदेशले अझै चियाको नीति बनाउन नसक्दा समस्या थपिएको बताउनुभयो । उहाँले वर्षेनी भारतले परिक्षणका नाममा नेपाली चियालाई अवरोध गर्ने गरेको बताउँदै नेपालले नै ल्याब स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "यो परीक्षण केन्द्रले चियाको स्वाद मात्र चखाउने हो, चियाको गुणस्तर मापन गर्नका लागि सरकारले ल्याबको व्यवस्था गर्नुपर्छ ।"

नेपाल चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाले परिक्षण केन्द्र सञ्चालनका लागि सेम्पल भाडा, चिया जोख्ने मेसिनलगायतका उपकरण आवश्यक पर्ने बताउनुभयो । उहाँका अनुसार चियाको परीक्षण गर्दा रङ, बास्ना, पत्ताको आकार  थाहा पाउन सकिन्छ । केन्द्र सञ्चालनमा आएपछि चिया तापक्रम पुग्यो पुगेर, वेदरको अवस्था थाहा पाउन सकिन्छ । जसले गर्दा विदेशी वायरले आफूले चाहेको स्वादको चिया खरिद गर्न सक्नेछन् । चियाको राजधानीका रुपमा चिनिएको सूर्योदय नगरपालिकामा चिया टेस्टिङ र चिया अक्सन सेन्टर स्थापना गर्न चिया उद्योगीले माग गर्दै आएका थिए । नगरप्रमुख राईका अनुसार अब बिदेशी चियाका पारखीले कन्याम आएर चियाको स्वाद लिन र अध्ययन गर्न सक्नेछन् । 

नेपालकै सबैभन्दा बढी अर्थोडक्स चिया सूर्योदयमा उत्पादन हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०७९-८० को तथ्याङ्क अनुसार नेपालमा कुल २०,२३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । आ.व. २०७९÷८० मा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त अवधिमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ करोड रुपियाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा हुने गरेको छ । बाँकी चिया स्वदेशसहित तेस्रो देशमा खपत हुने गरेको छ ।