• १२ साउन २०८१, शनिबार

बालक आर्यनको प्रतिभा, हवाईजहाज नदेखी उडाए नमुना जहाज

blog

कैलाली लम्कीचुहा–९, प्रतापपुरका आर्यन विश्वकर्मा रिमोट कन्ट्रोलबाट नमुना जहाज उडाउँदै ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ १ गते । इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा ।

आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग पार्नुभएको मात्र छैन प्रशंसाको पात्रसमेत बन्नुभएको छ ।

प्रतापपुरकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आर्यन अभाव र दुःखमा हुर्कंदै गरेका बालक हुनुहुन्छ । उहाँ चार वर्षको हुँदा बुवा भरत विश्वकर्माको करेन्ट लागेर निधन भएपछि उहाँका दुःखका दिन अरू थपिए । 

पतिको निधनपछि आर्यन र दुई छोरीको लालनपालनदेखि सबै जिम्मेवारी आमा राजेश्वरी विश्वकर्माको काँधमा आयो । आर्यन भन्नुहुन्छ, “हामीलाई पढाउने र अन्य खर्च जुटाउन आमा भारतको पुनामा भाँडा माझ्ने काम गर्नुहुन्छ । हवाईजहाज बनाउन चाहिने सामान पनि आमाले इन्डियाबाट पठाइदिनुभयो । घरमा काकाले पनि सहयोग गर्नुभयो ।” आर्यनले विद्यालयबाहेकको समयमा घरमै काकाको मोबाइलबाट गुगलमा खोजेर रिमोट कन्ट्रोल हवाईजहाज बनाएको बताउनुभयो । 

आर्यनले जान्ने बुझ्ने भएदेखि यस्तै नयाँ नयाँ सामान बनाउन समय खर्चिने गरेको आर्यनका काका निर्प विश्वकर्माको भनाइ छ । आर्यनले यसअघि सेन्सर घण्टी र रिमोट कन्ट्रोल नमुना कार बनाएको बताउनुभयो । 

महावीर पुनबाट प्रभावित आर्यनले भविष्यमा वैज्ञानिक बन्ने लक्ष्य रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “साँच्चिकै हवाईजहाज बनाएर आमा, काका, दिदीहरूलाई त्यसैमा बसाएर उडाउने सपना छ ।”

आर्यनले २० हजार खर्चमा दुई महिना लगाएर रिमोट कन्ट्रोलबाट चल्ने जहाज बनाउनुभएको हो । उहाँले आफूले बनाएको जहाजको नाम यती एरलाइन्स भएको बताउनुभयो ।

अहिलेसम्म आफूले नजिकबाट जहाज नदेखेको बताउने आर्यनले भन्नुभयो, “गुगलमा खोज्दै गएँ, हवाईजहाजका विभिन्न भागको जानकारी, आकार सबै थाहा भयो । चाहिने सामान जति आमासँग इन्डियाबाट मगाएँ ।” आर्यनले आफूले बनाएको रिमोटकन्ट्रोल जहाज घरनजिकैको खेतबाट खुला आकाशमा माथि माथिसम्म उडाएर देखाउनुभयो । सानै उमेरमा उहाँको उदाहरणीय कार्यले चर्चा पाउँदै गएको छ ।