• १३ असार २०८१, बिहिबार

सरकारले नुन, चिनी र मलको सहज आपूर्तिका लागि ठोस योजना बनाउँछः मन्त्री भण्डारी

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारी

काठमाडौँ, वैशाख ३१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको छ ।

सोमबार प्रनिधिनि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै मन्त्री भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको हो ।

उहाँले कृतिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारले योजना बनाउने बताउनुभयो । उहाँले अन्य विभिन्न वस्तुहरुको आपूर्ति गर्दा भन्सारमा असहजतालाई अन्त्य गर्न कूटनीतिक रुपमा सहजीकरण गर्ने पनि जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले आगामी दिनमा चाडपर्वमा चिनीको अभाव हुन नदिन सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले सरकारले खाद्य क्षेत्रमा दिने गरेको अनुदानको परिणामले सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा यस सम्बन्धमा नयाँ नीति तय गर्ने पनि जानकारी दिनुभयो ।

बैठकमा बोल्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आ.व. २०८०/०८१ मा १६ करोड रुपियाँ बजेट स्वीकृत भएको भन्दै त्यति रकमले नुनको ढुवानी गर्न समस्या भएको बताउनुभयो । उहाँले विगतमै १८ करोड ५० लाख रुपियाँसम्म छुट्याइने गरेकोमा अहिले भने घटाइएको भन्दै यसतर्फ समितिको ध्यानाकर्षण गराउनुभयो । उहाँले ११ महिनासम्मका लागि नुनको मौज्दात रहने गरेको पनि बताउनुभयो । उहाँले आठ वर्षदेखि नुनको मूल्य समायोजन हुन नसकेका कारण कर्पोरेशनलाई ठूलो आर्थिक व्ययभार परिरहेको भन्दै नुनको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल सरकारले अनुदान रहने रासायनिक मलको आयातमा ५ प्रतिशत भुक्तानी करको व्यवस्थाले गर्दा आपूर्तिकर्तासँग हिसाव मिलानमा कठिनाई तथा विवाद आउने गरेको बताउनुभयो ।