• ३० वैशाख २०८१, आइतबार

अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट हुन सक्दैन : आयोग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले प्रक्रियाअनुसार अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर गर्न नसकिने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै सो कुरा प्रष्ट पारेको हो । 

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”

मतदाता नामावली संकलन कार्य स्थगन भएपछि आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगकाअनुसार अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात आयोगबाट गत चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता पौडेलले प्रष्ट पार्नुभएको छ । 

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगद्वारा गत चैत १३ गते  प्रकाशन गरिएको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन परेमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गर्न सकिने आयोगले जनाएको छ ।