बाबुराम कार्की
वराहक्षेत्र, वैशाख ३० गते । विश्वमै लोपोन्मुख अवस्थामा रहेको खर मुजुरको संरक्षण गर्न स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । सुख्खा घाँसे मैदानमा बस्ने खर मुजुर विश्व भूगोलबाटै लोप हुँदै जान थालेपछि संरक्षणका लागि जनस्तरबाटै जनचेतनाका कार्यक्रमहरू सुरु गरिँदै आएको हो ।
संरक्षणमा जुटेका अभियान्ताहरु पछिल्लो समय खर मुजुर पाइने स्थानहरूलाई प्राथमिकतामा राखेर सम्बन्धित ठाउँका खर मुजुर बारे बुझाउन जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छन् । स्थानीय स्तरमा रहेका संघसंस्थाहरुसँग सहकार्य गरेर संरक्षणको कामलाई अगाडि बढाइएको संरक्षणकर्मी विमल तिम्सिनाले जानकारी दिनुभयो ।
वराहक्षेत्र वडा नम्बर २ चतरामा खर मुजुरबारे समुदायलाई जनचेतना जगाउन समाजका अगुवाहरूसहितको जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्थानीय सगरमाथा युवा क्लबको आयोजनामा गरिएको अभिमुखीकरणमा सरोकारवालाहरूले खरमुजुर लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
समाजका अगुवा तथा पूर्व शिक्षक ओम कुमार शर्मा, ज्ञानबहादुर पाण्डे लगायतले संरक्षणमा स्थानीय बासीहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा उपस्थित सहभागीहरूले संरक्षणमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा क्लबका अध्यक्ष युवराज भट्टराई विदुरले घाँसे मौदानमा बस्ने दुर्लभ चराको संरक्षण गर्न डढेलोलगायत चोरी सिकारीको नियन्त्रण गर्न सिङ्गो समाज लाग्नुपर्ने भनाइ छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाइने खर मुजुर लोप हुँदै गएपछि हिमाली नेचर संस्थाले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जोडिएका बस्तीहरूमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
कोशी टप्पु क्षेत्रको कोसी नदीको घाँसेमैदान, आरक्षको पथरी, भाकालपुर, सिसौघाट र प्रकापुरक्षेत्रमा एक महिना अगाडि खर मुजुरको गणना गरिएको थियो । ३० जना चरा विज्ञ तथा संरक्षणकर्मीहरूको सहभागितामा एक हप्ता लगाएर गरिएको गणनापछि हिमाली नेचर संस्थाले समुदायमा खर मुजुरबारे जनचेतनाका कार्यक्रम अघि सारेको हो । कोशी टप्पुको गणनाबाट कति खर मुजुर भेटिए भन्ने सार्वजनिक गरिएको छैन ।
विश्वबाटै लोप हुने अवस्थामा पुगेको खर मुजुर नेपाल, भारत र कयाम्बोडियामा मात्रै पाइने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार खरमुजुर भियतनाम र बङ्गलादेशबाट लोप भइसकेको छ । घाँसे मैदान घट्दै जानु र प्राकृतिक रूपमै भालेको सङ्ख्या बढी र पोथीको सङ्ख्या कम हुँदै जाँदा लोपोन्मुख खर मयुरको सङ्ख्यामा कमी आएको छ ।
गत वर्ष कोशी टप्पुमा २३ वटा मात्र खर मयुरको रेकर्ड गरिएको थियो । खेतबारीमा प्रयोग गर्ने विषादीका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराहरूको प्रजनन क्षमता कमजोर हुँदै गएकाले मयुरको सङ्ख्या लोपमुख अवस्थामा पुगेको संरक्षण कर्मीहरूले बताउँदै आएका छन् । पछिल्ला समय उनीहरूको रहनसहन र वासस्थानमा वातावरणीय प्रभाव पर्दा चरा सङ्कटमा परेको हो ।
चरा विज्ञका अनुसार खरमुजुरको सङ्ख्याका हिसाबले पहिलो भारत, दोस्रो क्मबोडीया र तेस्रो नेपाल रहेको छ । पहिला बङ्गलादेशमा पनि पाउने गरेको खरमुजुर त्यहाँबाट लोप भइसकेको छ । घाँसे मैदानमा बच्चा कोराल्ने र हिउँदमा सिमक्षेत्रको मैदामा बस्ने चरा प्राकृतिक र मानवीय विनाशका कारण लोप हुँदै गएको हो ।
घाँसे मैदानमा पाउने खर मुजुरको वासस्थानको विनाश हुँदै जानु र वासस्थानमा घरपालुवा जनावरको चरिचरण बढ्नु जस्ता गतिविधिले संरक्षणमा चुनौती थपिँदै गएको छ । घाँसे मैदानमा मानव सिर्जित डढेलो लाग्नु, चराहरू विद्युतीय प्रसारण लाइनसँग जुध्नु र चराका वास्थानहरुमा मिचाहा प्रजातिका वनस्पति फैलिनु जानुले खर मुजुर सङ्कटमा पर्दै गएको हो ।