• १२ साउन २०८१, शनिबार

नेपाली साहित्य संसारको आठौँ वार्षिकोत्सव सम्पन्न

blog

कृति विमोचन गर्नुहुँदै कार्यक्रममा सहभागी अतिथि ।

काठमाडौं, वैशाख २९ गते । नेपाली साहित्य संसारको आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । 

साहित्यकार प्रा.डा जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्ठ र  साहित्यकार गङ्गा लिगललाई साहित्य सिर्जना र सङ्गठनका विकासमा योगदान गरेबापत सम्मान गरिएको छ । 

समारोहमा टीकापुर कैलालीमा बसेर साहित्य साधना गरिरहेका बालकृष्ण खनालको अछुत फूल कृति लोकार्पण भएको छ । कृतिमाथि साहित्यकार नन्दु उप्रेतीले समीक्षात्मक मन्तव्य राख्नुभयो । 

साहित्यकार खगेन्द्र खोल्साघरे, डा. बमबहादुर थापा‘जिताली’, कृष्ण सुवेदी निराकार, कविराज घिमिरे, लालबहादुर भुजेल, डम्बर घिमिरे, मुकुन्द पौडेललगायत दर्जनौँ अतिथि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा बालकृष्ण खनालको कृति अछुत फूलको लोकार्पण गर्नुभयो । कृति लोकार्पणलगत्तै स्रष्टा सम्मानको कार्यक्रम भएको थियो । सो कार्यक्रममा प्रयागराज भट्टराई र गङ्गा लिगललाई दोसल्लासहित अभिनन्दनपत्र प्रदान गरिएको थियो ।   

लोकार्पित कृतिमाथि बोल्दै नन्दु उप्रेतीले केही लामो भएपनि अछुत पुल लघु उपन्यास भएको र लेखकले मिहिनेत गरेको बताउनुभयो । 

 कार्यक्रममा गङ्गा लिगल, बालकृष्ण खनाल, सुधीर थापा, पवन कार्की, एम. पी पाण्डे र रसज्ञ छहरालाई आजीवन सदस्यता  प्रदान गरिएको थियो । 

वार्षिकोत्सव समारोहको रचनावाचन कार्यक्रममा सुशीला श्रेष्ठ, दोलखा,  लक्ष्मण सङ्गम (अछाम), कल्पना भट्टराई (काठमाडौँ),  पुजन मिश्र (झापा), रोमा लम्सास (सप्तरी), .आँचलकुमार शर्मा ( काठमाडौँ), निशा न्यौपाने (पाँचथर),  पवन कार्की (धनकुटा), उषा गुरुङ झापा, शर्मिला पौडेल (धादिङ), सुधीर थापा (काभ्रे) ले रचनावाचन गर्नुभयो ।

सुशील रिजाल, दिवाकर घिमिरे, दीप सुदीप, जानकी मञ्जरी, हेमा सुवेदी, भावना घिमिरे लगायतका आयोजक टिमका सदस्यले सम्मान एवम् आभारपत्र वाचनमा सहयोग गर्नुभएको थियो ।

कार्यक्रमका अन्त्यमा सभाध्यक्षले रचना वाचकहरूलाई कदरपत्र, प्रमुख अतिथि र वक्तालाई आभार पत्र एवम् अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएकाे थियाे ।    

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. जीवेन्द्रदेव गिरीले यथार्थवादी लेखनका सोझो यथार्थवर्णन, आलोचनात्मक यथार्थ र समाजवादी यथार्थको विश्लेषण गर्नुभयो  । 

लोकार्पित कृतिका स्रष्टा बालकृष्ण खनालले  आफू औपचारिक शिक्षा नलिएको, जम्मा तीन वर्ष स्कुल गएको र स्वअध्ययनले लेखक भएको जानकारी दिनुभयो । 

कार्यक्रमका सभाध्यक्ष डा.  रमेश शुभेच्छुकले संस्थाको इतिहास, खास खास काम, सहकर्मीको अवस्था र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।