• ५ असार २०८२, बिहिबार

बैतडीको सुर्नयामा ठेउला सङ्क्रमण पुष्टि

blog

ठेउला रोगको सङ्क्रमण । फाइल तस्बिर

केशब राज भट्ट
बैतडी (बाशुलिङ्ग), असार ५ गते ।
 बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ । यो सङ्क्रमणबाट बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ ।

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितहरूको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको जानकारी दिनुभयो । ‘‘प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ,’’ उहाँले भन्नुभयो । यद्यपी, स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगि प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यसैबिच, उक्त क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन  (डब्लुएचओ) को टोली प्रभावित क्षेत्रमा पुग्न लागेको छ । स्वास्थ्य शाखा प्रमुख महराका अनुसार डब्लुएचओको टोली बिहिबार बिहान सुर्नया–७ र ८ मा स्थलगत अनुगमन तथा परीक्षण गर्न जाँदैछ ।

यसअघि स्वास्थ्य कार्यालय बैतडीले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको टोली खटाइसकेको थियो । शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले प्रभावित बस्तीमा निरन्तर स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । ‘‘रोग थप फैलिन नदिन नियमित निगरानी, सचेतना र उपचारात्मक सेवा सँगसँगै सञ्चालन गरिरहेका छौँ,’’ उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दालाई स्वच्छता तथा सरसफाइमा ध्यान दिन, सामूहिक जमघट नगर्न र स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी दिन आग्रह गरेका छन् ।

स्थानीय प्रशासन तथा गाउँपालिकाको समन्वयमा सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री तथा औषधीको व्यवस्था गरिएको गाउँपालिका प्रशासनले जनाएको छ ।