तनहुँ समाचारदाता
तनहुँ, असार ५ गते । विश्व बैँक अनुदान सहयोगमा तनहुँको व्यास नगरपालिकामा भइरहेको पराशरमार्ग स्तरोन्नतिको काममा ढिलाइ भइरहेको छ । म्याद एक महिना बाँकी रहँदा २० प्रतिशत मात्रै काम पूरा भएको छ । समय सकिन एक महिना बाँकी रहँदा भौतिक प्रगति २० प्रतिशत मात्रै पुगेको व्यास नगरपालिकाले जनाएको छ । एक वर्षअघि सुरु भएको सडक स्तरोन्नतिको काम सुस्त भएपछि कामको गति बढाउन नगरपालिकाले सम्बन्धित ठेकेदारलाई निर्देशन दिएको बताएको छ तर कामको गति भने सुस्त छ ।
पटक पटक अनुगमन गरेर छिटो सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले काम सुस्त गतिमा गरिरहेको व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “काम छिटो सम्पन्न गर्न धेरै पटक ताकिता गरे पनि काम सुस्त गतिमा भइरहेको छ ।”
विश्व बैँकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत चार वडा जोड्ने पराशरमार्ग स्तरोन्नतिको काम भइरहेकोमा हालसम्म भौतिक प्रगति २० प्रतिशत मात्रै रहेको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “यही गतिमा काम भए असार मसान्तसम्ममा आधा भाग पनि नहुने देखिएको छ, काम छिटो पूरा गर्न पत्राचार गरेका छौँ ।”
व्यास नगरपालिका–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अँधेरीभन्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १० किलोमिटर कालोपत्रे हुने छ । सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार रुपियाँमा निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो ।