रजनी योगी
सुर्खेत, असार ५ गते । कर्णाली प्रदेश सरकारले विपद्प्रतिकार्य योजना निर्माणमा ढिलाइ गरेको छ । असार लाग्दैगर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्दैगएको छ ।
पहिरोको उच्च जोखिममा रहेको कर्णालीको करिब ५७ प्रतिशत भिरालो जमिन छ । प्रदेश सरकारले भने अहिलेसम्म पनि विपद् प्रतिकार्य योजना निर्माण गरेको छैन । असावधानीका कारण कर्णालीमा विपदबाट ठुलो जनधनको क्षति हुनेगरेको छ । अहिलेसम्म प्रदेश सरकार विपद्को तयारीमा बेखबर बनेको छ ।
बर्खा लाग्नुअघि नै बाढी आउने कर्णालीमा पूर्वतयारीका काम न्यून मात्र हुनेगरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् तयारी प्रतिकार्य योजना निर्माण गरिरहेको जनाएको छ । प्रतिकार्य योजना निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विनोदकुमार बानियाँले बताउनुभयो ।
उहाँका अनुसार प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको र प्रदेश विपद् व्यवस्थापन परिषदबाट स्वीकृत भएसँगै कार्यान्वयनमा जानेछ । कमजोर भू–बनोट अनि, भौगोलिक विकट्ताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ ।
वर्षामा बाढी र पहिरोबाट ठुलो क्षति हुने गरेको बताइन्छ । राजधानीबाट टाढाको भौगोलिक दूरीमा रहेको कर्णालीको विपद् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिए पनि पीडितले समयमै राहत नपाएको गुनासो गर्छन् । बाढी र पहिरो पीडितहरू अझै त्रिपालमुनि छन् ।
विपद्को घटनामा वृद्धि
यो वर्ष कर्णालीमा ७३३ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनाबाट ३० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता रहेका छन् । १६२ जना घाइते भएको तथ्याङ्क छ । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क हेर्दा पछिल्लो चार आर्थिक वर्षमा विपद्का घटनाबाट ४१९ जनाले ज्यान गुमाएका छन् ।
यो अवधिमा चार हजार ५७९ विपद्का घटना भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७–७८ मा ४१६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा एक हजार २१६ विपद्का घटना भएका छन् । सो वर्षमा ६८ जनाले ज्यान गुमाएका थिए ।
यसैगरी आर्थिक वर्ष २०७९–८० मा दुई हजार २१४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०–८१ मा ७३३ विपद्का घटना भएकोमा १९४ जनाको मृत्यु भएको तथ्याङ्क छ । पछिल्लो समय विपद्का घटना कम भए पनि मानवीय क्षति बढी हुनेगरेको छ । सो आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षको रूपमा हेरिएको छ ।
विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७–७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भएको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा १७ तथा आर्थिक वर्ष २०७९–८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०–८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।