• १२ साउन २०८१, शनिबार

‘हिरामान्डी’ मा विद्रोहको स्वाद

blog

काठमाडौँ, वैशाख २९ गते । निर्देशक तथा निर्माता सञ्जय लीला भन्सालीको चलचित्र ‘गङ्गुबाई काठियावाडी’ को कथा मुम्बईको वेश्यावृत्ति बजारमा आधारित थियो । यस पटक त्यही कथा लाहोरसम्म आइपुगेको छ । यो कथा हो ‘हिरामान्डी’ अर्थात् ‘द डायमन्ड मार्केट’ ।

जहाँ गीतसङ्गीत नाच मात्र हुँदैन शाही नवाबलाई शिष्टाचारिता पनि सिकाइन्छ । नवाब ठुला परिवारका गन्नेमान्नेहरू आफ्नो छोरालाई हिरामान्डीमा जान सुझाउँछन् तर त्यहाँ दरबारबिच राजनीति चलिरहेको छ । 

स्वतन्त्रतापूर्ण युगमा आधारित कथा प्रेम, बदला र विद्रोहको स्वाद बोकेको स्वतन्त्रता सङ्ग्राममा गणिकाहरूको भुलिएका योगदानका बारेमा केन्द्रित छ । हिरामान्डीकी महिला मल्लिकाजान (मनीषा कोइराला) सिङ्गो हिरामान्डीमा लोकप्रिय छिन् । आफ्नो जिद्दी र घमण्डका अगाडि न त उनी नवाबलाई सम्मान गर्छिन् न ब्रिटिस अङ्ग्रेजलाई । मल्लिकाकी जेठी छोरी बिब्बोजान (अदिती राव हैदरी) हिरामान्डीको गौरव हुन् । बिब्बोको वास्तविक उद्देश्य आमाको विरासतलाई अगाडि बढाउनुको साटो देशलाई दासत्वबाट मुक्त गराउनु हुन्छ । कवितामा रुचि राख्ने उनी आफ्नी आमाकोे पेसामा आउन चाहँदिनन् । उनी नवाब ताजदार बलोच (ताहा शाह) को प्रेममा पर्छिन, जसका लागि उनी हिरामान्डीबाट भाग्छिन् । यसैबिच मल्लिकाकी दिवङ्गत बहिनी रेहानाकी छोरी फरिदान (सोनाक्षी सिन्हा) उनको समस्यामा थपिन्छिन् । फरिदानको एउटै लक्ष्य छ, मल्लिकाको घमण्ड तोड्ने । यिनीहरूबाहेक मल्लिकाकी कान्छी बहिनी वहिदा (सन्जिदा शेख) पनि छिन्, जो मल्लिकाको हातबाट हरेक पाइलामा अपमानित भइरहन्छिन् । लज्जो (ऋचा चड्डा) जो एक नवाबको प्रेममा फसेकी छिन् । नवाब, अङ्ग्रेज र स्वतन्त्रता सेनानीहरूबिच चलिरहेको दुबिधामाको हिरामान्डीमा के कस्ता घटना घट्छन् । 

‘हम दिल दे चुके सनम’, ‘ब्ल्याक’, ‘देवदास’, ‘गुजारिश’, ‘गोलियों कि रासलीला रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता चलचित्र भन्सालीकै भागमा छ । बलिउड चलचित्रमा भन्सालीको परिचय नै बनेको छ, भव्य सेट, आकर्षक पहिरन र सशक्त महिला पात्र । भन्सालीको निर्देशनमा बनेका चलचित्रमा सधैँ चार कुरा समान हुन्छन् । त्यसमा पनि गहनाले सजिएको पिरियड ड्रामा । जसले जुनसुकै दर्शकलाई लोभ्याउन सक्ने मनमोहक शृङ्खलाका रूपमा रहन्छ । यसभन्दाअघि पनि बलिउडमा यस्ता खालका चलचित्र नबनेका होइनन् । ‘मुगल–ए–आजम’ र ‘उमराव जान’ उदाहरण हुन । स्वतन्त्रतापूर्व लाहोरको पृष्ठभूमिमा आधारित शृङ्खलाको कथा हिरामान्डी क्षेत्रमा बस्ने वेश्याहरूका बारेमा हो, जसको सुन्दरता, कला र सिपका अगाडि ठुला राजाले पनि घुँडा टेक्ने गर्थे र पूर्ण रूपमा आफू लुटिएको उनीहरूलाई थाहा हुँदैन्थ्यो । 

चलचित्रमा हरेक कलाकारलाई हिराजस्तै छनोट गरिएको छ, जसका लागि निर्देशक भन्सालीको प्रशंसा जति गरे पनि कम हुन्छ । लामो अन्तरालपछि चलचित्रमा देखिएकी मनिषा कोइरालाको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । उनले मल्लिकाजानको भूमिका निकै सुहाएको छ । निर्देशक भन्सालीले उक्त भूमिका धेरै सोचविचार गरेर उनकै लागि मात्र लेखेका हुन् जस्तो लाग्छ । फरिदानको भूमिकामा देखिएकी सोनाक्षी सिन्हा यस शृङ्खलाकी दोस्रो ठुलो अभिनेतृ हुन्, जो सुन्दर पनि छिन् र आफ्नो चरित्रलाई पूरा न्याय गरेकी छिन् । विब्बोजानको भूमिकामा अदिती राव हैदरी, लज्जोको भूमिकामा ऋचा चड्डा, वहिदाको भूमिकामा सञ्जिता शेखले पनि उत्कृष्ट अभिनय गरेका छन् । फरदिन खान र शेखर सुमन पनि लामो समयपछि हिरामान्डीमा देखिएका छन् । उनीहरूले आफ्नो अभिनय कौशलताले दर्शकको मन जित्ने काम गरेका छन् । अध्ययन सुमन, फरिदा जलाल जस्ता कलाकारको अभिनयलाई पनि सम्झनलायक छ ।

निर्देशकले अहिलेका दर्शकलाई ध्यानमा राखेर पनि गीतह बनाएका छन् जहाँ आधुनिकताको फ्युजन पनि समावेश छ । एएम तुराज, आमिर खुस्रोको शब्दमा नरेन चन्दावरकर र बेनेडिक्ट टेलरले गीतमा सङ्गीत भरेका छन् । श्रेया घोषाल र राजा हसनले स्वर दिएका गीत निकै सुमधुर छन् । 

सिरिजको पटकथामा केही कमजोरी नभएका होइनन् तर पनि यसले कलात्मकताको नयाँ उदाहरण प्रस्तुत गरेको छ । जसको हरेक दृश्य भव्य छ र प्रत्येक शृङ्खला हेरेपछि त्यही चिज लामो समयसम्म आँखाअगाडि घुमिरहन्छ । निर्देशक भन्सालीले आफ्नो पहिलो वेब सिरिजमार्फत समाजको मूलधारबाट अलग बस्ने गणिकालाई सम्मान, माया र सहानुभूति दिने प्रयास गरेका छन् । जहाँ उनी धेरै मात्रामा सफल देखिएका छन् ।