• १९ असार २०८१, बुधबार

कृषि गणनामा सात हजार दुई सय कर्मचारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते  ।  केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ । सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि सात हजार दुई सय कर्मचारी खटाएको छ । विभागले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका निर्देशक डा. महेश सुवेदीले कृषि गणनाकै लागि आव २०७७/७८ मा पाँच करोड रुपियाँ खर्च भइसकेको, चालू आर्थिक वर्ष ७२ करोड र आगामी आर्थिक वर्ष नौ करोड रुपियाँ खर्च हुने जानकारी दिनुभयो । 

वैशाख ६ गतेदेखि जेठ मसान्तसम्म चल्ने कृषि गणनाका लागि पाँच हजार १५० गणक, एक हजार ३५० सुपरिवेक्षक तथा ७७ जना कृषि गणना अधिकृतसहित सात हजार दुई सय कर्मचारी खटाइएको विभागले जनाएको छ । ७५३ वटै स्थानीय तहका तीन लाख ५० हजार किसानसँग प्रश्न सोधेर जानकारी सङ्कलन गर्न ८० वटा प्रश्न तयार गरिएको छ । कृषि परिवार सूचीकरण, कृषि परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली तयार गरेको छ । तथ्याङ्क सङ्कलनमा कागजी प्रश्नावलीको नै प्रयोग गरिनेछ भने काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लामा ट्याबलेट प्रयोग गरिने विभागले जनाएको छ । 

कृषि गणना गर्दा पहाडमा चार आना र तराईमा आठ धुर जमिन हुनेलाई किसान मान्ने मापदण्ड बनाइएको छ । एउटा गाई वा भैँसी अथवा पाँचवटा भेडाबाख्रा चौपाया अथवा २० वटा घरपालुवा पन्छी हुनेलाई पनि किसान मानिएको विभागका महानिर्देशक डा. हेमराज रेग्मीले बताउनुभयो । 

कृषि गणनाले किसानको हरेक गतिविधिलाई समेट्ने बताउँदै उहाँले यस पटकको कृषि गणनामा सार्वजनिक चौर÷चरन, पोखरी÷ताल, उद्यान÷पार्क, खाली जग्गा, मुख्य बाली, कृषि कामदारको औसत ज्यालादार, कृषि संरचना लगायतको विवरण सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।