• ७ जेठ २०८१, सोमबार

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको शपथ

blog

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

शशिधर पराजुली 

विराटनगर, वैशाख २७ गते। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 

प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। आम निर्वाचनपछिको १७ महिनामा कार्की तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो। 

नवनियुक्त मुख्यमन्त्री कार्कीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट उहाँले एक/एक जना मन्त्री नियुक्त गर्नुभएको छ। नेकपा (एमाले) संसदीय दलका उपनेता रामबहादुर मगर र नेकपा माओवादी केन्द्रका सांसद गणेशप्रसाद उप्रेती (सुशील) मन्त्री नियुक्त हुनुभएको हो। 

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो। मन्त्रीको कार्यविभाजन भने गरिएको छैन। दुवै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभयो। उहाँहरूले यसअघि पनि विभिन्न समयमा कोशी प्रदेशको मन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। 

मन्त्री मगर यसअघि कोशी प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो भने उप्रेतीले निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। 

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने समय गुजारेका कारण बुधबार राति प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। 

लगत्तै बिहीबार बिहान साढे ११ बजे एमाले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न ५२ जना सांसदहरूको हस्ताक्षरसहित दाबी पेस भएपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्नका लागि सूचना प्रकाशन गर्नुभएको थियो। हस्ताक्षर सनाखतबाट स्पष्ट बहुमत पुष्टि भएपछि उहाँले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।