• ७ जेठ २०८१, सोमबार

आधारभूत अस्पतालमा भिडियो एक्स-रे सेवा

blog

राजकुमार भट्टराई 

खोटाङ, वैशाख २७ गते । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । गाउँपालिकाले आवश्यक उपकरण खरिद गरेर ल्याएपछि आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो । 

गर्भावस्था, कलेजो अवस्था, पित्तथैलीमा ढुङ्गा भए नभएको, मुटुको चाल, धड्कनको अवस्था, मिर्गौला सुन्निए नसुन्निएको, प्रोस्टेटको अवस्था, पिसावथैलीको समस्या, प्यान्क्रियाज लगायतका भित्री अङ्गको अवस्था चेकजाँचका लागि भिडियो एक्स–रे सेवा सुरु गरिएको आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. प्रमोदकुमार यादवले बताउनुभयो । 

गाउँपालिकाका नौ वडा तथा छिमेकी पालिकाको नागरिकलाई लक्षित गर्दै सुरु गरिएको भिडियो एक्स–रे सेवा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई र उपाध्यक्ष रुपेश राईले उद्घाटन गर्नुभएको हो । शरीरका भित्री अङ्गको अवस्थाका बारेमा जानकारी लिएर सोही अनुसारको उपचार गर्नका लागि आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो । भिडियो एक्स–रे गर्नकै लागि जिल्ला अस्पताल वा अन्यत्र जानुपर्ने हल अन्त्य भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।  

भिडियो एक्स–रे सेवा उद्घाटनका क्रममा तीन जना गर्भवतीको निःशुल्क भिडियो एक्स–रे गरिएको छ । भिडियो एक्स–रे गरे बापत जनही सात सय शुल्क निर्धारण गरिएको आधारभूत अस्पतालले जनाएको छ । 

इन्द्रेणीपोखरीमा २०७७ पुस १५ गते स्थापना गरिएको पाँच बेडको कोभिड–१९ अस्थायी अस्पताललाई नै आधारभूत अस्पतालमा रूपान्तरण गरिएको हो । पाँच शय्याको आधारभूत अस्पताललाई १५ शय्याको अस्पताल बनाउने गरी डिपिआर तयार भइसकेको छ ।