• ७ जेठ २०८१, सोमबार

बलियो लेखा प्रणाली जरुरी

blog

काठमाडौँ, वैशाख २७ गते । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेसनल एडभोकेसी एन्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दिगोपनाका लागि संस्थाको लेखा सुपरिवेक्षण समिति बलियो हुनुपर्ने बताउनुभएको छ । 

विश्व ऋण परिषद्का लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारका रूपमा काम गर्दै आएकी उहाँले लेखा सुपरिवेक्षण समितिमा कार्यरत व्यक्ति आफैँमा योग्य हुनुपर्ने बताउँदै ती व्यक्तिले नेतृत्व गर्ने समितिका कारण संस्था दिगोपना र स्थायित्वमा टेवा पुग्ने धारणा राख्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) को आयोजनामा भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली : विश्व अभ्यास नेपालको सम्भावना’ विषयमा कार्यपत्र पेस गर्दै उहाँले लेखा सुपरिवेक्षण समितिले सहकारीको सञ्चालक समितिलाई पनि सही किसिमले सल्लाह दिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सहकारीमा वित्तीय साक्षरता, नीति नियमको परिपालना र सदस्यमा नियमन विश्वस्तताका आन्तरिक लेखा प्रणाली बलियो हुनुपर्ने धारणा उहाँको थियो । अन्तर्राष्ट्रिय अभ्यास जानकारी गराउँदै उहाँले आन्तरिक तथा बाह्य लेखा परीक्षकको परिवर्तन गरिनुपर्ने, सञ्चालक समितिको बैठकमा लेखा सुपरिवेक्षण समितिको सुझाव छलफल गर्नुपर्ने र समितिका प्रतिवेदनहरू परीक्षण गरिएको तथा आवश्यक सुधार गरिएको सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

कार्यपत्रमा टिप्पणी गर्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको धारणा राख्नुभयो ।