• १३ मंसिर २०८१, बिहिबार

कृषि अनुदानका लागि ९ सय बढी आवेदन

blog

नेपालगन्जस्थित कृषि ज्ञान केन्द्र बाँकेको कार्यालय । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २६ गते । बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी कृषि अर्थ विज्ञ जीवनकुमार केसीले कार्यालयले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदान प्राप्तिका लागि जिल्लाभरका नौ सय बढी किसानले प्रस्तावना दर्ता गरेको बताउनुभयो । नौ सय बढी आवेदनमध्ये करिब एक सय ५० वटा किसानका फर्म तथा समूह, सहकारीलाई यस वर्ष कृषि अनुदानका छनौट गरिएको उहाँले बताउनुभयो । 

“कार्यालयले सिचाइ प्रयोजनका लागि कृषि अनुदानको सूचना जारी गर्‍यो, नौ सय बढी किसानका फर्म, समूह तथा कृषि सहकारीका आवेदन दर्ता भए, बजेट रकम सीमित थियो, एक करोड ५० लाख रुपियाँको रकमले कसरी सबैलाई पुर्‍याउने ?” सूचना अधिकारी केसीले भन्नुभयो, “मापदण्ड र कार्यविधिअनुसार छाँट्दै लग्यौँ, फिल्ड भेरिफिकेशन गर्‍यौँ, अन्तमा करिब एक सय ५० वटा आवेदनलाई छनौट गर्‍यौँ ।”

सिँचाइ कार्यक्रम अन्तर्गत यस वर्ष एक करोड ५० लाख रुपियाँ बजेट रहेको र छनौट भएका किसान, फर्म, समूह तथा सहकारीहरूलाई मापदण्डका आधारमा प्राथमिकता अनुसार ५० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्मको सहयोग प्रदान गरिने सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

फिल्डमै गएर अन्य कुनै सङ्घ संस्थाबाट दोहोरो अनुदान लिएका छन् कि छैनन्, मापदण्ड अनुसार जग्गा छ कि छैन लगायतका विषयहरूमा अनुसन्धान गरेर प्रस्तावना छनौट गरिएको उहाँको भनाइ छ । एउटा व्यक्तिलाई बोरिङ मात्र गाड्नका लागि बढीमा ५० हजार रुपियाँ र कृषि समूह तथा सहकारीहरूलाई बढीमा एक लाख ५० हजार रुपियाँसम्मको सहयोग गरिने केसीले बताउनुभयो ।

किसानका फर्म, समूह तथा सहकारीहरूलाई सिँचाइका लागि बोरिङ, पाइप, मोटर लगायतका आवश्यक यन्त्रहरू खरिदका लागि मात्र उक्त अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार किसानले सिँचाइका लागि आवश्यक यन्त्र खरिद गरिसकेपछि बिल पेस गरेपश्चात् बल्ल अनुदानको रकम प्रदान गरिने कार्यालयले जनाएको छ ।

अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँ लगायतका खेतीका लागि धेरै ठाउँमा अझैपनि आकासे पानीमा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठुलो सङ्ख्यामा किसानको आवेदन परेको हो । सरकारले कृषिप्रति आकर्षण बढाउन तथा उत्पादन वृद्धिको उद्देश्यले किसानलाई अनुदान दिँदै आएको छ ।