• २४ वैशाख २०८१, सोमबार

स्थानीय तह निर्वाचन प्रक्रिया तीव्र

blog

इश्वरचन्द्र झा

काठमाडौँ, वैशाख ९ गते ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । बिहीबार देशभरका ७५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्पन्न गर्न अन्तिम चरणमा पुग्यौँ ।” निर्वाचन नहुने शङ्कालाई वैशाख ३० गतेसम्मका लागि बिर्सिन आग्रह गर्दै उहाँले अब निर्वाचन आयोगले मतदान, मतगणना र मतपरिणाम सार्वजनिक गरी प्रमाणपत्र वितरण गरेपछि मात्रै बिसाउने प्रस्ट्याउनुभयो । 

यही वैशाख ३० गते स्थानीय तहका लागि मतदान हुँदैछ । निर्वाचन कार्यक्रमबमोजिम आयोगले बिहीबार ७७ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहले उपलब्ध गराएको भवन/कोठामा कार्यालय स्थापना भएको जानकारी दिनुभयो । उहाँले अबका तीन दिनभित्र निर्वाचन अधिकृतले कार्यालयलाई पूर्ण व्यवस्थित बनाउने दाबी गर्नुभयो । जिल्लाको सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकी स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

आयोगले नियुक्त गरेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले उम्मेदवारी दर्ता हुनुअघि आआफ्नो कार्यालयको भौतिक सामग्री र कर्मचारी व्यवस्थापन, मतदाता नामावली दिने र उम्मेदवारको नामावली प्रमाणित गर्ने कार्य गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयमा नौदेखि १० जना कर्मचारी रहनेछन् । प्रवक्ता पौडेलले भन्नुभयो, “देशभरि तीन दिनभित्र छ हजार १४४ जना कर्मचारी अधिकृतको कार्यालयमा खट्ने गरी नियुक्त हुनेछन् ।” 

नियुक्त हुने सबै कर्मचारी सम्बन्धित पालिकाकै राख्ने गरी आयोगले निर्देशन दिएको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । 

निर्वाचन सामग्री ढुवानी सुरु

आयोगले निर्वाचन सामग्री ढुवानी सुरु गरेको छ । आयोगका प्रवक्ता पौडेलले सातवटा जिल्लाको मतदान सामग्री ढुवानी सुरु भएको जानकारी दिनुभयो । आयोगबाट ४१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइँदैछ । उक्त सामग्री सम्बन्धित निर्वाचन कार्यालयबाट छुट्टै पोका पारेर सबै स्थानीय तहमा पठाइने प्रवक्ता पौडेलले बताउनुभयो । मतपत्र भने वैशाख १३ गतेपछि मात्रै पठाइनेछ । 

आयोगले सामान ढुवानी गर्ने क्रममा सुरक्षाका लागि गृह मन्त्रालयसँग समन्वय गरेको छ । निर्वाचन सामग्री सुरक्षाका लागि ‘लोकेसन ट्र्याक गर्ने जीपीएस प्रणाली’सँग जोडिएको एक जना निर्वाचन आयोगका कर्मचारी सामानसँगै पठाइने उहाँले बताउनुभयो । मतपत्र ढुवानी गर्दा नेपाली सेनाको टोली साधनसँगै गन्तव्य स्थलसम्म जाने उहाँले खुलाउनुभयो । बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा पठाइएको छ । 

४४ संस्थालाई पर्यवेक्षण अनुमति

निर्वाचन आयोगले स्थानीय निर्वाचनको पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगले पर्यवेक्षणका लागि आह्वान गर्दा करिब ६५ वटा  संस्थाले निवेदन बुझाएको थियो ।