• १२ साउन २०८१, शनिबार
blog

काठमाडौँ, वैशाख २५ गते । गर्मी बढेसँगै विभिन्न सङ्क्रमण जन्य रोगले दुःख दिने गर्छ । गर्मी मौसममा भाइरस, ब्याक्टेरिया, किटजन्य रोगले बढी दुःख दिने चिकित्सक बताउँछन्। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय सङ्क्रमण जन्यरोगका बिरामी बढ्दै गएका छन् । 

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, घाँटी खसखस गर्ने, नाक सुख्खा हुने, घाँटी चिलाउने, एलर्जी हुने, ज्वरो आउने, डेंगुका र कोभिड लगायतका बिरामी आउने गरेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘हिजो आज अस्पतालमा प्रदूषणले घाँटी चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् ।’ त्यसका अलाव अस्पतालमा फुड पोइजनिङको समस्या लिएर अस्पतालमा बिरामी पुग्ने उहाँको भनाइ छ । 

कान्तिबाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.अनिल कुमार श्रेष्ठले पछिल्लो केही समयदेखि रुघाखोकी, ज्वरो, झाडापखाला, टाइफाइट, निमोनिया जस्ता समस्या लिएर बालबालिका अस्पताल पुग्ने बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ,‘अस्पतालमा प्राय जस्तो भाइरल ज्वरो, रुघाखोकी, जण्डिस, पसिनाले गर्दा शरीरमा डाबर, निमोनिया, श्वासप्रश्वास, झाडापखाला बान्ता हुने लगायतका स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने गर्दछन् ।’ 

सिभिल अस्पतालमा छालारोग विशेषज्ञ डा.प्रज्वल पुडासैनीले पछिल्लो समय गर्मी र प्रदूषणले गर्दा एलर्जी हुने, चाया,पोतो आउने, छाला चिलाउने, डाबर आउने, राता बिमिरा आउने, सन बन हुने जस्ता समस्या लिएर अस्पतालमा पुग्ने गरेको बताउनुहुन्छ । 

सङ्क्रमण जन्य रोग देखिनुको कारण 

बाँसी, सडेगलेको खानेकुरा खानेकुरा र दूषित पानीले गर्दा फुड पोइजनिङका बिरामी बढेको डा.पुन बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ, ‘फुड पोइजनिङको समस्या विशेषगरी दूषित पानी, बासी खानेकुराले भाइरस र ब्याक्टेरिया जस्ता सङ्क्रमणले गर्दा यस्तो समस्या देखिन्छ ।’ 

त्यस्तै रुघाखोकी, घाँटी लगायतका श्वास प्रश्वासका समस्या वायु प्रदूषणले गर्दा बढेको डा.पुनको भनाइ छ । 

मौसम परिवर्तनसँगै भाइरस जन्य सङ्क्रमणले गर्दा समस्या देखिएर अस्पतालमा पुग्ने गरेको डा. श्रेष्ठ बताउनुहुन्छ । त्यस्तै वायु प्रदूषण र गर्मीका कारणले बिरामी बढेको छालारोग विशेषज्ञ डा. पुडासैनीको भनाइ छ । 

डा.पुनका अनुसार सङ्क्रमण जन्य रोगले रोगप्रतिरोधात्म क्षमता कम भएका, दीर्घरोगी र ज्येष्ठ नागरिक, बालबालिका बढी प्रभावित हुने हुँदा रोग लाग्नबाट बचाउन उहाँको आग्रह छ ।

कसरी हुन्छ उपचार ?

चिकित्सकका अनुसार यस्ता समस्या देखिएमा चिकित्सकको परामर्शबिना औषधी खानु हुँदैन । भाइरस सङ्क्रमण जन्य रोगलाई घरमा नै मनतातो पानी, झोलिलो खानेकुरा, नुनपानी,बेसार पकाएर खाएर निको बनाउन सकिने डा.श्रेष्ठ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘भाइरसबाट लागेका रोगलाई तुरुन्त औषधी किनेर खानु हुँदैन । घरमानै मनतातो पानी खाने, नुन, पानी बेसार पकाएर खानले विस्तारै निको हुँदै जान्छ ।’ यदि समस्या बढ्दै गएर बिरामीलाई गाह्रो भएमा तुरुन्त अस्पतालमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

बच्ने उपाय 

यो मौसममा झाडापखाला, हैजा आउँ, फुड पोइजनिङको समस्याबाट बच्न सफा ताजा खानेकुरा खाने, उमालेको शुद्ध पानी पिउन डा.पुनको सुझाव छ । डा.पुनले खाना खाने भाँडा राम्रोसँग सफा गरेर खाने, जहाँ पायो त्यही नखान आग्रह गर्नुभयो । 

सङ्क्रमण जन्य रोगबाट बच्न मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुन पानीले राम्रोसँग हात धुन डा. पुनको सुझाव छ । 

साथै किटजन्य रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, लामो बाहुला भएका लुगा लगाउने झुल लगाएर सुत्ने घरवरीपरी पानी जन्म नदिन उहाँको अनुरोध छ । 

त्यस्तै छालारोगबाट सुतीको लुगा लगाउने, छालालाई घाम र प्रदूषणबाट बचाउन शरीर छोप्ने गरी कपडा लगाउने, सनब्लक क्रिम र मोस्चराइज क्रिम लगाउन डा.पुडासैनीको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।