• ६ जेठ २०८१, आइतबार

धनुषामा एकैदिन २१ फरार प्रतिवादी पक्राउ

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख २५ गते । धनुषा प्रहरीले एकैदिन २१ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका विशेष प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट एकै दिन त्यतिको सङ्ख्यामा फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताउनुभयो । 

पक्राउ परेकाहरू अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरू रहेको छ । उनीहरू सबैलाई अदालतसमक्ष बुझाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार फरार प्रतिवादी खोजतलास तथा कारबाही अभियान सञ्चालन गरिएको छ । अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको प्रवक्ता अवाले बताउनुभयो । 

कर्तव्य ज्यान, सवारी ज्यान, ठगीलगायत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका तथा आरोपित फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । यसका लागि एक प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरी चौकीलगायत अन्य प्रहरी युनिटबाट पनि जनशक्ति परिचालन गरेर फरार प्रतिवादी खोज्ने र पक्राउ गरी कानुनी दायराभित्र ल्याउने काम भइरहेको र यो अभियान निरन्तर चलिरहने प्रवक्ता अवाको भनाइ छ ।