• ६ जेठ २०८१, आइतबार

खुसीको बाटो अप्टिमिस्टिक

blog

साथीहरू तपाईंहरूलाई अप्टिमिस्टिकका बारेमा थाहा  छ ? हामीले झट्ट नसुनेको शब्द हुन सक्छ तर यसबारे बुझ्न अति नै आवश्यक रहेछ । अप्टिमिस्टिकले हामीलाई जीवनको सकारात्मक पक्षसँग जोडेर खुसी हुन सिकाउने रहेछ । हामी जीवनमा पक्कै पनि धेरै राम्रो कुराको आशा गरिरहेका हुन्छौँ । यो अप्टिमिस्टिकले हामीलाई  सधैँ आशावादी र आत्मविश्वासी बनाउने रहेछ । जीवनमा निराशा भएन भने पनि हामी नयाँ नयाँ कुराको अपेक्षा गर्न सक्छौँ । साथीहरू यो यस्तो विषय रहेछ मैले पनि यसबारे धेरै अध्ययन गर्ने मौका पाएँ । 

म अध्ययन र विद्यालय एम्बिसन एकेडेमीमार्फत हामीले अन्तर्राष्ट्रियस्तरमा हरेक वर्ष अप्टिमिस्टिकका बारेमा निबन्ध प्रतियोगिता आयोजना हुनेबारे थाहा पायौँ । विद्यालयस्तरीयमा छनोट भएको निबन्ध अप्टिमिस्टिकको अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भयो भने पाँच लाख रुपियाँसम्म नगद पुरस्कारको समेत व्यवस्था रहेछ । हामी धेरै साथीले विद्यालयबाट यो विषयमा निबन्ध लेख्यौँ । मैले लेखेको निबन्ध नेपालबाट छनोटमा पर्न सफल भयो । त्यसैले साथीहरूसँग यो विषयमा केही कुरा भन्न गइरहेको छु । 

अप्टिमिस्टिकको अर्थ आशा, सकारात्मकता, नयाँ ऊर्जा, जोस, जाँगर र आत्मविश्वास भन्ने रहेछ । योसँग हामी जोडिनु भनेको हामी शारीरिकसँगै मानसिक रूपमा पनि स्वस्थ हुनु हो । जसमा हाम्रो भावनात्मक, सामाजिक र मनोवैज्ञानिक स्वास्थ्य जोडिएको हुन्छ । मैले मेरो निबन्धमा यसबारे गुगलमा धेरै कुरा खोजी गरेर बुझ्ने र लेख्ने मौका पाएँ । साथीहरू मैले मेरो बाबाआमाले हरेक दिन जीवनलाई खुसीमय बनाउन गरिरहनुभएको सङ्घर्ष र आशावादी सोचलाई सामान्य शब्दमा बयान गरेको थिएँ । साथीहरू विद्यालयको अध्ययनसँगै हामीले यस्ता धेरै विषयका बारेमा पनि जानकारी राख्ने बानी गर्‍यौँ भने सानै उमेरदेखि रचनात्मक  र सिर्जनात्मक क्षमताको विकास गर्न सकिन्छ ।