• ६ जेठ २०८१, आइतबार

मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आएन

blog

फाइल तस्बिर

पथरी, वैशाख २४ गते । तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन । मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले शनिबार पथरी शनिश्चरे-९ स्थित महेन्द्रचोकमा सडक अवरुद्ध गरेका थिए । 

ह्युम पाइप, ढुङ्गा र काठलगाएर सडकअवरुद्ध गरिएको र निर्माणको काम फेरि सुरु हुने सुनिश्चितता नहुँदासम्म अवरोध कायमै रहने सडक सङ्घर्ष समितिका सहसंयोजक सुमन वनेमले बताउनुभयो । यसअघि सङ्घर्ष समितिले गत मङ्सिर १३ गते पनि सडकअवरुद्ध गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि दीपक थिङले तीन महिनाभित्र काम सम्पन्न गर्ने सहमतिपछि त्यसबेला सडक सञ्चालन गर्न दिइएकामा सो सहमति कार्यान्वयन नभएकाले पुनः अवरोध गर्नुपरेको वनेमले जानकारी दिनुभयो ।  

पथरीशनिश्चरेस्थित २५ किलोमिटर लम्बाइ र ६० फिट चौडाइ सडक निर्माणको ठेक्का एक करोड ९४ लाख ९४ हजारमा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्माण कम्पनीले करिब दुई वर्षदेखि सडक निर्माणको काम नगर्दा स्थानीय आक्रोशित छन् । निर्माण कम्पनीको ढिलासुस्तीका कारण मनमोहन गान्धी सडकमा पर्ने मोरङ पथरी शनिश्चरेको वडा नम्बर ६, ८, ४, ९ र १० का स्थानीयवासीले सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति गठन गरी सडक निर्माण गर्न दबाब दिँदैआएका छन् । रासस