काठमाडौँ, वैशाख १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गर्नुभएको छ ।
मङ्गलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा स्पष्ट पार्नुभएको हो ।
“राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी’’ उहाँले विपी कोइरालाको भनाइ उद्धृत गर्दै, ‘‘लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो । लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन । लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन् ।”
मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गराउनुभयो । साथै, हालको समयमा निराशाको खेती बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले आशा र सकारात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता औंल्याउनुभयो ।
उहाँले पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा सङ्गीतहरू सिर्जना भइरहेको उल्लेख गर्नुभयो । साथै, राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राख्नुभयो ।
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो ।