• ६ जेठ २०८१, आइतबार

कुलेखानी जलाशयमा पानी मौज्दात घट्यो

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, वैशाख २४ गते । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको पानी विद्युत् उत्पादनमा गत वर्षको यही समयको तुलनामा यो वर्ष कम पानी प्रयोग भएको छ ।

रन अफ रिभरमा आधारित नेपालका जलविद्युत् आयोजनाको नदी, खोलाको पानी सतह घट्दै जाँदा जलाशाययुक्त आयोजना कुलेखानी जलविद्युत् आयोजनाको तीनै वटै जलविद्युत् केन्द्र पूर्ण क्षमता चल्दै आएको हो ।

आयोजनाको जलाशयको पानी गत वर्षको फागुन–चैत–वैशाख महिनाको तुलनामा यो वर्ष कम प्रयोग भएको नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा आयोजनाको इन्द्रसरोवर गाउँपालिकाको मार्खुस्थित जलाशयको सतह समुद्री सतहबाट एक हजार ५०३.१९ मिटरसम्म पानी रहेको छ । 

कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले शुक्रबारभन्दा गत वर्ष वैशाख २१ दिउँसो ३ बजेको समयमा आयोजनाको जलाशयमा अझ कम पानी रहेको जानकारी दिनुभयो । गत वर्ष वैशाख २१ दिउँसो ३ बजेको समयमा आयोजनाको जलाशय इन्द्रसरोवर तालमा समुद्री सतहबाट १४९८.७६ मिटरसम्म पानी रहेको थियो ।

केन्द्र प्रमुख भट्टले कुलेखानी प्रथम जलविद्युत् केन्द्र, दोस्रो र तेस्रो गत एक महिनादेखि २४ घण्टा पूर्ण क्षमतामा चलेको बताउनुभयो । आयोजनाको विद्युत् उत्पादन सरदर ५५.४ मेगावाट आवर रहेको छ, उहाँले भन्नुभयो, “भारतले राति विद्युत् नदिएको र सुक्खाका कारण नदी, खोलाको पानीको सतह घट्दा पूर्ण क्षमतामा २४ घण्टा चलाउनु परेको हो । उहाँले कुलेखानी आयोजनाको जलाशयको पानीको अधिकतम उपयोग गर्ने समय अहिले नै भएको र जेठसम्म यो क्रमले निरन्तरता पाउने बताउँदै हिउँ पग्लेर पानीको सतह बढ्ने क्रम सुरु भएको र केही समयपछि वर्षासमेत सुरु हुने भएकाले जलाशयको पानी विद्युत् उत्पादनमा विद्युत् केन्द्रले प्रयोगमा ल्याउने गरेको बताउनुभयो ।जलविद्युत्को ब्याकअप आयोजना जलाशययुक्त यस आयोजनालाई  नेपालको जलविद्युत्को महत्वपूर्ण ब्याकअप मानिन्छ । 

सुक्खा र गर्मीको समयमा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न कुलेखानी जलाशयको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्ने गरिएको छ ।विद्युत् प्राधिकरणले भारतमा बिक्री गर्दै आएको विद्युत्मा कुलेखानीको तीन वटै केन्द्रबाट उत्पादित विद्युत् पर्छ ।

विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्नसमेत जलाशयको पानी उपयोग गरी कुलेखानी जलविद्युत् केन्द्र सञ्चालन गर्ने गरिएको छ ।

जलाशयको सतह समुद्री सतहबाट एक हजार ५३० मिटर पुग्दा जलाशय भरिन्छ ।कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।