• १० मंसिर २०८१, सोमबार

एडिबीले नेपाललाई सहयोग बढाउने

blog

काठमाडौँ, वैशाख २३ गते । दातृ संस्था एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । 

एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलिसिमा रहेका अर्थसचिव मधुकुमार मरासिनीसँगको ‘साइड लाइन’ वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाउनुभएको हो । त्यसअघि सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेकाले त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गर्नुभएको थियो । सो क्रममा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताउनुभएको हो ।  

भेटका क्रममा सचिव मरासिनीले विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि पनि आग्रह गर्नुभएको थियो ।  त्यस्तै उहाँले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको थियो । जवाफमा अध्यक्ष मासात्सुगुले एडिबीले नेपाललाई प्राथमिकतामा राखेकाले उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउनुभएको थियो । 

नेपाली प्रतिनिधिको टोलीले सोही क्रममा एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेट गरेको थियो ।  त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरू समयमै सम्पन्न गर्नेबारे सहमति भएको अर्थ मन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सहुलीयतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको थियो ।

उपाध्यक्ष याङ्गले विश्व बैङ्गसँगको सहकार्यमा तयार भइरहेको कन्ट्री साझेदारी फ्रेमवर्क अन्य मुलुकका लागि समेत नमुना हुन सक्ने बताउनुभयो ।