• २५ पुस २०८१, बिहिबार

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

blog

म्याग्दी, वैशाख २२ गते । क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन बेनी नगरपालिका-२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । माटोमा अम्लीयपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो । 

बेनी नगरपालिका-२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न थालेको जानकारी दिनुभयो । “गत मङ्सिरमा तीन सय ८२ किसानको माटो परीक्षण गर्ने क्रममा दुई सय ६५ वटा नमुना माटोमा अम्लीयपना अत्यधिक भेटिएको थियो,” उहाँले भन्नुभयो “प्रयोगशालाका प्राविधिकहरूको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण सुरु गरेका हौँ ।” 

प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलो कृषि चुन उपलब्ध गराएको छ । प्रतिकिलो १० मूल्य पर्ने कृषि चुनका लागि कृषकले २.५ तिर्नुपर्नेछ । रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लीयपना बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले बताउनुभयो । “उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पुर्‍याएको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा दीर्घकालीनरुपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३-३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ ।” 

बेनी नगरपालिका-२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र विषादीको प्रयोग घटाउन एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम)कृषक पाठशाला सञ्चालन गरिएको बताउनुभयो । गत वर्ष भकुण्डेमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपालि बगरफाँटमा सञ्चालन भएको उहाँले बताउनुभयो । बेनी नगरपालिका-३ भकिम्लीले पनि हालै माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । रासस