• ५ जेठ २०८१, शनिबार

विद्यार्थी जीवनमा अनुशासन

blog

ज्ञान प्राप्त गर्न विद्यालय वा शैक्षिक संस्था जाने व्यक्तिलाई विद्यार्थी भनिन्छ भने उसले ज्ञान सिक्न लागेको समयसीमालाई विद्यार्थी जीवन भनेर बुझ्न सकिन्छ । यसै गरी नियम र मर्यादामा रहेर अगाडि बढ्नु अनुशासन हो । जीवनमा अनुशासनले खेल्ने भूमिकालाई महत्वका रूपमा लिन सकिन्छ । जुन व्यक्तिले आफ्नो जीवनमा मानवीय व्यावहारिक नियम तथा मर्यादालाई पालना गरेर अगाडि बढ्छ उसले सफलता हासिल गर्छ । जीवनमा सफलताका लागि अनुशासनको पालना गर्नु अत्यावश्यक हुन्छ । त्यसैले जीवन र अनुशासनका बिच घनिष्ट सम्बन्ध कायम गर्न सकेमा मात्र विद्यार्थीको भविष्य सफल र पूर्ण बन्न सक्छ ।

विद्यार्थीका लागि अनुशासन नभई नहुने कुरा हो । अनुशासनले नै विद्यार्थीको चारित्रिक गुणको विकास गर्छ । अनुशासनबिनाको विद्यार्थी लगामबिनाको घोडाझै हुन्छ । जुन विद्यार्थी अनुशासित छ उसैले मात्र आफूले पढेको विद्यालाई व्यवहारमा उतार्न सक्छ । एउटा विद्यार्थीको व्यवहारले, घरपरिवार, छरछिमेक र समाजलाई समेत प्रभाव पारिरहेको हुन्छ । अतः अनुशासित मानिसले नै जीवनका हरेक मोडमा सफलता हासिल गर्न सक्छ । अनुशासन एक किसिमको गहना हो । अनुशासित विद्यार्थीले नै समाज तथा राष्ट्रको शोभा बढाएका हुन्छन् । आजको २१ औँ शताब्दीमा ज्ञान विज्ञानको क्षेत्र ज्यादै फराकिलो बन्दै गएको छ । विद्यार्थी जीवनमा समयको सदुपयोग अनुशासित भएर गर्न सक्नु पर्छ । अहिले विद्यार्थी वर्गमा केही अनुशासनहीनता तथा उच्छृङ्खलताको स्थिति बढ्दै गएको देखिन्छ । कलम, किताब बोकेर विद्यालय जानुपर्नेमा नारा, जुलुस र हड्तालमा सक्रिय बन्न पुगेका देखिन्छन् । यस्ता विद्यार्थीबाट समाजको उन्नतिमा केही सहयोग हुँदैन ।

अतः विद्यार्थी जीवनमा अनुशासित, परिश्रमी, जिज्ञासु, मेधावी बनाउन र समयसापेक्ष बन्न सिकाउने अनुशासनको स्थान अत्यन्त महत्वपूर्ण रहेको हुन्छ ।