• २५ पुस २०८१, बिहिबार

धानमा रोग लागेपछि किसान चिन्तित

blog

रोग लागेको धानको नमुना संकलन गर्दै कृषि प्राविधिक ।

राजकुमार भट्टराई 

खोटाङ, वैशाख २१ गते । खोटाङको जन्तेढुंगा गाउँपालिकाको सावा खोला किनारमा रोपिएको धान बालीमा पहिचान नभएको रोग फैलिएको छ । धानमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् । करिब पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धान बाली रोगले सङ्क्रमित भएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले जानकारी दिनुभयो । 

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा पर्ने सावा खोला किनारका खेतमा रोपिएको चैते धानमा नयाँ रोगको प्रकोप फैलिएको हो । पसाउन लागेको धानमा पातको छेउबाट खैरो लामो धर्सो आउने र माथि टुप्पोबाट सुक्दै जाने लक्षण देखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत दिवाकर गौतमले बताउनुभयो । 

सावा खोला आसपासका धानमा महिना दिन अघिदेखि रोग लाग्न सुरु भएको हो । सुरुमा फाट्टफुट्ट देखिएको रोग हाल सबै बोटमा फैलिएको छ । वैशाख २० गते गाउँपालिकाले प्रभावित क्षेत्रमा पुगेर नमुना सङ्कलन गरेको छ । सङ्कलित नमुनालाई परीक्षणका लागि वाली संरक्षण प्रयोगशाला झुम्कामा पठाउने र रोगको पहिचान भएपछि सोही अनुसार उपचार गरिने गौतमको भनाइ छ । सावा खोलाको पानीले सिञ्चित खेतको धानमा मात्रै रोग देखिएको छ । सावा खोलाभन्दा माथिका खेतमा लगाइएको धानमा भने हालसम्म रोग देखिएको छैन । धानमा रोग लागे पनि किसानले ढिलो जानकारी गराएका कारण बालीमा बढी क्षति हुन पुगेको छ । 

नमुना सङ्कलन एवम् अनुगमनका लागि वैशाख २० गते गाउँपालिका उपाध्यक्ष खड्का सहितको टोली सावा खोला किनारका खेतमा पुगेका थिए । खोटेहाङ गाउँपालिकातर्फको सावा खोला आसको धानमा समेत सोही प्रकृतिको रोग देखिएको छ ।