• ३ जेठ २०८१, बिहिबार

सिप र रोजगारीका लागि मेला

blog

काठमाडौँ, वैशाख २० गते । जनशक्तिलाई सिप र रोजगारीसँग जोड्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा बुधबारदेखि ‘सिप मेला’ सुरु भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाको आयोजनामा मेला सुरु भएको हो । 

एक महिनासम्म चल्ने सो मेलामा दुई हजार ८१ जनालाई अहिले बजारमा उच्च माग रहेका विभिन्न २९ वटा पेसासँग सम्बन्धित निःशुल्क सिप तालिम दिइने महानगरपालिकाले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मेलाको उद्घाटन गर्दै मेलाले सिप नहुनेलाई सिपयुक्त बनाउन, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन मद्दत पुग्ने बताउनुभयो । ‘महानगर गौरवको आयोजना’ अन्तर्गत आयोजना गरिएको यस मेलाले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने उहाँको भनाइ थियो । 

मेलाले श्रमिक र रोजगारदाताबिच पुलको काम गर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले सिप मेलाबाट पुलको काम गर्दै छौँ । सिप तालिम लिएकालाई रोजगारदातासँग जोड्न खाजेका छौँ ।” उहाँले मेलाको आयोजनाले महानगरवासीलाई स्वरोजगार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँका अनुसार मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । तालिम प्राप्त गर्नेलाई रोजगार, स्वरोजगार वा ‘ओजेटी’ (अन द जब ट्रेनिङ) निश्चित गरिएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मेलामा तालिम लिएका जनशक्तिलाई रोजगारदातासँग सम्पर्क गराउनु पनि मेला आयोजनाको अर्को उद्देश्य रहेको बताउनुभयो । विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीसमेत तालिममा सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यसबाट उहाँहरू औपचारिक अर्थतन्त्रमा प्रवेश गर्ने उहाँको भनाइ छ ।

प्रवक्ता मानन्धरका अनुसार मेलामा अटो मोबाइल्सका क्षेत्रमा अटो इलेक्ट्रिक, अटो एयर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषयमा तालिम दिइने छ । त्यसै गरी निर्माण क्षेत्रमा सिकर्मी, टाइल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङसम्बन्धीसमेत तालिम दिइने छ ।

त्यसै गरी मेलामा हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधा अन्तर्गत वारिस्टा, फुड एन्ड कुक, बेकरी, बार ट्रेनिङ र वेटर÷वेट्रेस् सम्बन्धी तालिम दिइने छ । मेलामा सूचना प्रविधि डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सिसिटिभी क्यामरा विषयमा तालिम दिइने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

त्यसै गरी मेलामा मेकानिकल विषयमा वेल्डिङ, रेफ्रिजेरेटर र एसी टेक्निसियनको तालिम, आर्ट एन्ड कल्चर क्षेत्रमा आर्ट र स्कप्चरको तालिम, गार्मेन्ट्सको क्षेत्रमा टेलरिङ/ड्रेस मेकर र फेसन डिजाइनिङ, ब्युटिसियन (सौन्दर्य कला) को क्षेत्रमा नेल आर्ट, मेकअप आर्ट, आइलेस आर्ट, हेअर कट एन्ड स्टाइल, र सैलुन तालिम, डिजाइनिङको क्षेत्रमा साइन मेकिङ तालिमका साथै पुरोहित र ज्योतिषसम्बन्धी प्रशिक्षण दिइने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । 

उहाँले तालिमको अन्तिम दिन रोजगार मेलाको आयोजना गरिने जानकारी दिनुभयो । यस दिन रोजगारदाता स्टलमा रहने छन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने छन् । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुने उहाँले बताउनुभयो । मेला जेठ २५ गतेसम्म चल्ने छ ।