• ५ जेठ २०८१, शनिबार

वन डढेलो र आगलागीका घटना बढ्दै

blog

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख १८ गते । सुख्खा मौसम सुरु भएसँगै वन जङ्गलमा आगलागीका घटना बढ्दै गएको छ । करिब एक सातादेखि जिल्लाका चार स्थानमा लागेको आगो निरन्तर फैलिरहेको छ । 

चम्पादेवी गाउँपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायिक वन, सिद्धिचरण नगरपालिका–९ ज्यामिरेको ज्यामिरे सामुदायिक वन, मानेभञ्ज्याङ गाउँपालिका–४ नेवारेडाँडाको सुमित्रा कालिका सामुदायिक वन र खिजिदेम्बा गाउँपालिका–७ को देम्वा सामुदायिक वनमा आगलागी भइरहेको छ । यससँगै जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि वैशाख दोस्रो साता सम्ममा ६६ वटा निजी तथा सामुदायिक र सरकारी वन जङ्गलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । 

वन जङ्गलमा आगेको आगो अनियन्त्रित भएर विभिन्न स्थानमा १२ वटा व्यक्तिको घर र एउटा विद्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताउनुभयो । हालसम्म ६६ वटा वनमा आगलागी भएको तर आगो लगाउने व्यक्ति कोही पनि अहिलेसम्म पक्राउ नपरेको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ । 

व्यक्तिले आफ्नो निजी खरबारी, खेतबारीमा आगो बाल्दा नजिकैको जङ्गलमा सल्किनुका साथै वनमा आयो लगाउँदा नयाँ घाँस पलाउने साथै जङ्गली जनावरले कम दुःख दिने गलत धारणाले वन जङ्गलमा आगो लगाएको हुनसक्ने उहाँको भनाइ छ । समुदायबाट उजुरी नआएकाले पनि अहिलेसम्म कोही पनि आगो लगाउने व्यक्ति पक्राउ नपरेको प्रनाउ खड्काको भनाइ छ । फेला परे नियम अनुसार कारबाही गरिने प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । 

वन जङ्गलमा आगो लगाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसका साथै चालु आर्थिक वर्षको यो अवधि सम्म ४२ वटा व्यक्तिको घरमा आगलागी भएको छ । आगलागी बाट जिल्लामा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । आगलागी बाट करिब एक करोड ४६ लाख ३९ हजार ६०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।