• ८ जेठ २०८१, मङ्गलबार

पैंचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालन

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १८ गते । गुल्मीमा पैचो पसल प्रालीले पैंचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ । यस जिल्लाको छत्रकोट गाउँपालिका-५ खर्ज्याङ्ग खरिबोट टारीमा प्रथम चरणमा करिब ६० रोपनी जग्गामा आधुनिक प्रविधिको प्रयोग गरी टमाटर खेती शुभारम्भ गरिएको पैचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानले जानकारी दिनुभयो।

कृषि उपजको उत्पादकत्व वृद्धिसँगै बजारीकरण गर्दै ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यसहित कृषिमा चक्लाबन्दी संरचनामा उत्पादन गर्न पैचो नमूना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ । बढ्दो बसाइँसराइ कम गर्न, कृषिको सम्भावनाको खोजी, प्रविधिको हस्तान्तरण, न्यून सञ्चालन लागत तथा स्थानीय रोजगारीको सृजनालगायत यस नमूना उत्पादन केन्द्रको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

उत्पादित कृषि उपजलाई पैचो प्रशोधन केन्द्र रिडीमा प्रशोधन गरी केचअप, जाम, अचारलगायतका वस्तु उत्पादन गरिन्छ । पैचोले गुल्मी, अर्घाखाँची, पाल्पामा कृषि उपजको संकलन तथा बजारीकरणका गर्न १३ वटा आफ्नै शाखा तथा १२ वटा फेन्चाईज र रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र संचालन गरी पैचो उत्पादनहरु स्वदेश तथा विदेशमा बिक्री वितरण गर्दै आएको प्रबन्ध निर्देशक न्यौपानले बताउनुभयो ।

यस कम्पनीमा ४८ जना शेयर सदस्य, ३०० जना प्रत्यक्ष रोजगारी तथा हजारौं अप्रत्यक्ष रोजगारी र २५ हजार कृषकसँग काम गर्दै आएका छन् । लामो समयदेखि सहरमा बसोबास गर्दै आएपनि गाँउबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँ घरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारीकरण गर्ने उदेश्यले २०७१ मा बसे पनि सहर, गाँउकै खाने रहरु भन्ने मुल मन्त्रलाई आत्मसाथ गुल्मीकै बलेटक्सारबाट सुरु गरिएको उहाँले बताउनुभयो ।

पैचो पसलले अहिले नेपालभर र विदेशमा अमेरिका, जापान, अष्ट्रेलिया, यूएई, कतारलगायतका देशमा आफ्‌नो उत्पादनहरु बिक्री गर्दै आएको छ । पैचोबाट अहिले पैचो टोमेटो केचअप, मेक्सिकन सस, पैचो अचार, पैचो होल क्यान कर्न, पैचो आटो, पैचो कोदोको पिठो, पैचो जाम, सिन्की, मस्यौरा जस्ता उत्पादनहरु उत्पादन गर्छ । यस्तै जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा पुर्‍याइन्छ ।

परम्परामा सीमित भैसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्‍याउने र उपयुक्त बजार प्रवर्धन गर्ने लक्ष्यका साथ सञ्चालित पैचो पसल प्रालिले गुल्मीदरबार गाउँपालिका-३ पुर्खेमा करिब १५० रोपनी र मुसिकोट नगरपालिका-५ आँपचौरमा करिब ३०० रोपनी जग्गा भाडामा लिएर एकीकृत कृषि फर्म सञ्चालनमा ल्याएको छ । तीन स्थानमा जग्गा व्यवस्थापन र सिचाइ प्रणालीको स्थापनाका लागि एक करोड ५० लाख पूँजीगत लागत लाग्ने अनुमान गरिएको बताइएको छ ।

त्यस अवसरमा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पैचो पसलले किसानले उत्पादनको बजार सुनिश्चत गरेको भन्दै किसानलाई व्यवसायिक बन्न प्रेरणा मिलेको बताउनुभयो । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले निजी क्षेत्रसँग सहकार्य गरेर कृषिबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै सधै किसानको साथमा रहेको बताउनुभयो ।