• ४ जेठ २०८१, शुक्रबार

लक्ष्यभन्दा ७२ प्रतिशत बढी राजस्व सङ्कलन

blog

आन्तरिक राजस्व कार्यालय हेटौँडा ।

राममणि दाहाल

हेटौँडा, वैशाख १८ गते । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०-०८१  को चैत महिनासम्मको राजश्व सङ्कलनको लक्ष्यको ७२ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयको चालु आवको चैत मसान्तसम्मको कुल राजस्व सङ्कलनको लक्ष्य छ अर्ब २९ करोड ५४ लाख ९९ हजार रुपियाँ रहेकोमा चालु आवको नौ महिनाको अवधिमा ७२.३३ प्रतिशत अर्थात चार अर्ब ५५ करोड ३४ लाख ४२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

यस्तै चैत महिनाको मात्र ९३ करोड ५८ लाख ९६ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ५२.३१ प्रतिशत अर्थात् ४८ करोड ९५ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

यसअघि कार्यालयको चालु आवको फागुन मसान्तसम्मको कुल राजस्व सङ्कलन लक्ष्य पाँच अर्ब ३५ करोड ९६ लाख तीन हजार रुपियाँ रहेकोमा गत साउनदेखि फागुन मसान्तसम्ममा ७५.८२ अर्थात चार अर्ब छ करोड ३८ लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियोे ।

कार्यालयले चालु आवको नौ महिनाको अवधिमा स्थायी लेखा नम्बर दर्ता एक हजार ९३४ वटा, बजार अनुगमन १८६ पटक, करदाता शिक्षा १६ पटक, अन्तः शुल्क नवीकरण एक हजार ४४७ वटा र बायोमेट्रिक अद्यावधिक एक हजार ८९८ जनाको गरेको छ ।

राजस्व कार्यालयले आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

कार्यालयले चालु आवको गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा आयकरवापत ७५ करोड ४९ लाख ७१ हजार, घर बहाल करवापत एक करोड २३ लाख ९६ हजार, ब्याज कर छ करोड ४४ लाख ८९ हजार, मूल्य अभिवृद्धि कर ८० करोड ४० लाख ९७ हजार, अन्तः शुल्क दुई अर्ब ४७ करोड २७ लाख ५४ हजार, स्वास्थ्य सेवा कर ४४ करोड ४७ लाख २३ हजार र अन्य कर १३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।