• ६ जेठ २०८१, आइतबार

श्रीलङ्कामा कर्फ्यू आदेश जारी

blog

कोलम्बो, वैशाख ७ गते । श्रीलङ्काको मध्यभागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यू लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो । आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्तिसुरक्षा कायम गर्न भन्दै कर्फ्यु  लागाउनुपरेको जनाएको छ । घटनाका बारेमा निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।

आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्यवृद्धि भएकाले त्यसलाई न्यूनीकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन् ।आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महँगी बढ्नु र वस्तु तथा सेवाहरुको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरुको दाबी छ । आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा वस्तु अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सरकारी अधिकारीहरुले नै कतिपय औषधी, अत्यावश्यक अन्य विभिन्न सामानको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत् कटौती भएको छ । आर्थिक सङ्कटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट उत्पन्न भएको छ । राजधानी काेलम्बाेदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुको झडपका क्रममा २९ जना घाइते भएका छन् ।