• १२ पुस २०८१, शुक्रबार

धार्मिक पर्यटनको केन्द्र बन्दै पनौती

blog

पनौतीको महत्वपूर्ण स्थल । तस्विर सौजन्यः प्रशान्त श्रेष्ठ

बनेपा, वैशाख १६ गते । पनौतीको इतिहासबिना नेपाल मण्डलको इतिहास अधुरो हुन्छ । नेपाल मण्डलको धार्मिक–सांस्कृतिक जीवनका ढुकढुकी पनौतीका जात्रापर्वमा पनि चल्छन् । नेपाल मण्डलका जात्रापर्वका श्वास पनौतीमा चल्छन् । 

पनौतीको मानेश्वरी जात्राले हाँडीगाउँको मानेश्वरीलाई पनि स्मरण गराउँछ । ललितपुरको हरसिद्धि होस् वा भक्तपुरको नवदुर्गा गण, पनौतीको पवित्र भूमिमा ती देवगणले पाइला नटेक्ने हो भने ती पनि अधुरै हुन्छन् । 

यःमरीको उद्भवस्थल हो पाञ्चाल नगर पनौती । यसकारण नेवाःहरूले यःमरी–पुन्हि मनाउँदा पनौतीको प्रथम–स्मरण गर्न पुग्छन् । बाह्रवर्षे मकर मेलाले त सिङ्गो नेपाल मण्डलका धार्मिक–सांस्कृतिकजनलाई एउटै सांस्कृतिक–छातामुनि ल्याएर राख्ने गरेको छ । पनौतीको पहिचान मिल्ने यी केही उदाहरण हुन् ।

काठमाडौंनजिक रहेको सुन्दर शान्त सहर पनौती ऐतिहासिक छ । पनौती वरिपरिका डाँडाहरु रिसोर्ट र होटलले भरिन थालेका छन् । कुशादेवी, शंखु, बल्थली, चामखर्कका होटलले पनौतीमा पर्यटकको स्वागतार्थ पर्खेका छन् । नमोबुद्ध पनौती नजिकको अर्काे पर्यटकीय केन्द्र हो । नमोबुद्ध नजिकको अर्काे बजार दाप्चा बन्दीपुरलाई बिर्साउन सक्ने अर्काे ऐतिहाासिक थलो रहेको पनौतीका फोटो पत्रकार प्रशान्त श्रेष्ठको भनाइ छ ।  


पनौतीका बारेमा अनेक किंवदन्ती छन् । पनौती भन्ने बित्तिकै प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला भनेर धेरैले सम्झन्छन् । पनौतीको वास्तविक नाम पन्ति भएको जानकारहरुको भनाइ छ । पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ति’ भनेको राख्नु वा गाड्नु भएको उल्लेख गर्नुहुन्छ । अपभ्रंश हुँदै त्यसको नाउँ पनौती हुन गएको अध्यक्ष कर्माचार्यको बुझाइ छ । त्योसँगै पनौतीको नामबारेमा अन्य तर्क पनि छन् । 

ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाको धनी पनौती स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सक्छ । पर्यटकलाई आवश्यक होटल र होमस्टे पनौतीमा प्रशस्त छन् । प्रचार हुन नसक्दा पनौतीले सोचेजसरी पर्यटक तान्न सकिरहेको छैन । त्रिवेणीघाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर पनौतीमा छन् । पर्यटक आकर्षित गर्न पनौती जात्रा, गाईजात्रा, नमोबुद्धजात्रा, घण्टाकर्ण, हरिसिद्धि, नवदुर्गा नाच, माधवनारायण पर्वको प्रचार हुन सकेको छैन । खोजकर्ता विश्व उलकले पनौतीबारेमा रहेको ऐतिहासिक पलातीबारेमा खोज गर्नुभएको छ । 

नेपाली भाषामा पला=पाइला र ती=राख, पूर्ण अनुवाद ‘पाइला राख’ भन्ने रहेको उहाँले चर्चा गर्नुभयो । मल्लकालमा काठमाडौँ तथा रोशी उपत्यकाका मानिसमा पुण्यभूमिमा पाइला टेके मोक्ष प्राप्त हुने विश्वासअनुसार यहाँ पाइला राख्न आग्रह गर्न हेतु तत्कालीन मल्ल राजाले स्थानको नाम नै ‘पलाती’ राखेको किंबदन्ती छ । 

४० भन्दा बढी हिन्दू तथा बौद्ध मन्दिर र २८ भन्दा बढी ठुला चाडपर्वले सुसज्जित एक महत्वपूर्ण तीर्थस्थल पनौतीलाई परापूर्वकालमा पञ्चवा, पाञ्चाल, पनवती, पनाती, पुन्तुरी, पलाती आदि नामले पुकारिन्थ्यो । खोजकर्ता उलकले आध्यात्मिक तथा धार्मिक दृष्टिमा पनौतीको त्रिवेणीघाटलाई उत्तर प्रयागको रुपमा प्रत्येक बाह्र वर्षमा माघमा एक महिना मकर मेला मनाउने कुरा आफ्नो आलेखमा उल्लेख गर्नुभएको छ । 


पनौतीको इतिहास सत्ययुगसँग जोडिएको छ । पनौतीमा सुनाइने कथाअनुसार समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटिएर कैलाश फिर्ती सवार देवादी देव महादेवसँग फर्किएका मन्दराचल पर्वतका नेती वासुकी नाग कुञ्ज पर्वत (फूलचोकी) बाट भगवती माइको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिका लागि बहेको लीलावती (लक्ष्मी) र स्वर्गका अप्सराका उपवासबाट प्रसन्न हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात् रत्नागिरी पर्वत हालको नगरकोटबाट बहेर आएका पुण्यमाताको सङ्गममा राज हुनुभयो । 

दैवलाई पनि शत्रु लाग्छ भनेझैं वासुकी नागलाई पनि गरुडले आक्रमण गरेछ । वासुकी नाग कहिले पुण्यमाता खोला माथिल्लो भागतर्फ भाग्ने तथा कहिले रोशी (लीलावती) खोला माथितिर दौडिन थाले । नाग पानीभित्र दौडिन थालेसँगै खोलाको ढुङ्गा पनि नागसँगै फर्कन थाल्यो । 

गरुडलाई नाग कता भागेछ भत्रे पत्ता लगाउन गाह्रो भएन । यो कुरा थाहा पाएर वासुकी नाग आफ्नो वासस्थानबाट रोशी खोलामाथि लाग्यो । खोलाका ढुङ्गाहरु माथितिर (खोला) आएतर्फ फर्किए । गरुडले नदेखेको मौका छोपी हालको काथं गणेशनजिक बासुकीले मनुष्यको रुप धारणगरी जमिनमा हिँड्दै आफ्नो वासस्थान दोभानमा नागरुप धारण गरी पसे । फेरि पुण्यमाता खोला माथितिर बहन थाले, खोलाका ढुङ्गाहरु माथितिर (खोला) आएतर्फ फर्किए । 

गरुडले नदेखेको मौका छोपी सतिवन काटेपछि हालको ठाडो बाटोनजिक वासुकीले मनुष्यको रुप धारणगरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नागरुप धारण गरी पसे । खोलाको ढुङ्गा उल्टो फर्किएपछि गरुड बासुकी नाग बसेको स्थान पत्ता लगाउन नसकेपछि थाकेर फर्किए भने नाग सुरक्षितसाथ सो स्थानमा बसे भन्ने मान्यता छ । 

त्रेतायुगमा पनि यसको चर्चा छ । ज्ञान प्राप्तिका लागि लीलावती र पुण्यमाताको दोभानमा तपस्या गरिबसेका गौतम ऋषि पत्नी अहिल्याको रुपमा लोभिएका स्वर्गका राजा इन्द्रले छलगरी व्यभिचार गरेका थिए । त्यो दृश्य देखेका ऋषिको श्रापले अहिल्या रातो ढुङ्गामा परिणत भए । जुन अहिले इन्द्रेश्वर मन्दिरको उत्तर–पूर्वमा रहेको छ । ऋषिको श्रापबाट शरीरभरी योनी बनेर कुरुप भएका राजा इन्द्र लाज र पश्चातापले छटपटाउन थाले । यत्तिकैमा स्वर्गबाट आकाशवाणीले पापमोचनका लागि लीलावती र पुण्यावती दोभानछेउ निगालो गाडेर टुसा नआएसम्म महादेवको आराधना गर्न सुझाए । 


राजा इन्द्र पापमोचन गर्न नदीको दोभानमा तपस्या गरी बसे । धेरै वर्षसम्म पनि आफ्नो पति नफर्किएपछि खोजीमा पनौती पुगेका रानी साँची (इन्द्रायणी) ले राजाको दुर्दशा देखिन् । पतिको याचना र आग्रहलाई स्वीकार्दै रानी साँची पनि राजाको पापमोचनका लागि महादेवको कठोर तपस्यामा समाहित भइन् । सूर्यनारायण कुम्भबाट मकर राशीमा प्रवेश गरेको मकर सङ्क्रान्तिको दिन साँचीको तपस्याबाट खुसी भएका पार्वतीले महादेवसँग उक्त पापमोचनका लागि कृपा गर्न अनुरोध गर्दा महादेवले रुद्ररुप धारणा गरी तेस्रो आँखा खोली सुमेरु पर्वत (गोरखनाथ–दलिनचोक डाँडा) को गर्भबाट दुग्धजल प्रभाव गरिदिए । 

भगवान रुद्रको तेस्रो आँखाको तेजबाट उत्पन्न भएको सो बहावलाई रुद्रावती नामले पुकारियो । लीलावती र पुण्यावतीको सङ्गममा रुद्रावतीको सेतो बहाव मिसिएर त्रिवेणी बन्यो र सङ्गम सेताम्मे बन्यो । सुमेरु पर्वतको गर्भबाट आएको सेतो जलधारा कुञ्ज पर्वतबाट आएको रोशी (लीलावती–लक्ष्मी) र रत्नागिरी (तपोवन) बाट आएको पुण्यावती (पार्वती) नदीको सङ्गममा मिलन भएपछि इन्द्रमा अलौकिकता प्राप्त भयो । साथै गाडिएको निगालोमा टुसा पलायो । 

आकाशवाणी भएबमोजिम राजा इन्द्रले सो त्रिवेणीमा डुबुल्की मारी पाप मोचन गरेर रानी साँचीसहित स्वर्गमा फिर्ता भए । सुमेरु पर्वतबाट जल (दुध) प्रवाह निरन्तर रह्यो । राजा इन्द्रको पाप मोचनको खबरले वरपरका मानिसहरु आफ्नो पाप तथा रोगहरु पखाल्न त्रिवेणीमा आएर नुहाए । यो खबर टाढा टाढासम्म फैलियो । सुमेरु पर्वतबाट माघ महिनाभर सेतो जलधारा आएर मसान्तमा बन्द भयो र केही जलको मात्रा  निरन्तर रह्यो । 

रुद्रावतीको सेतो जलधाराको अन्त्य भएपछि त्रिवेणीले प्राप्त गरेको पाप मोचन र रोग निदानको शक्तिमा ह्रास भयो । फेरि बाह्र वर्षपछि सोही तिथिमा सूर्यनारायण कुम्भबाट मकर राशीमा प्रवेश गरेको, मकर सङ्क्रान्तिको दिन सुमेरु पर्वतबाट दुध प्रवाह भयो र त्रिवेणीको अलौकिक शक्ति महिनाभरी कायम रह्यो । त्यसबेला पनि मानिसले त्रिवेणीमा डुबुल्की मारेर स्नान गरी आफ्नो शरीरका रोग र शरीरजन्य कर्मबाट सिर्जित पाप मोचन गरे । 

प्रत्येक १२ वर्षमा रुद्रावतीबाट दुध प्रवाह केही पटक मात्र रह्यो र मानिसले यसको फाइदा उठाए । पछि आएर सोही तीथिमा रुद्रावतीको जलधाराको मात्रा (आयतन) मा अरु बेलाभन्दा वृद्धि भएको देखिन्छ । मानिसहरु यस जुनीमा भएका पाप कर्मबाट मोक्ष प्राप्त हुने विश्वासमा मकर मेलामा त्रिवेणीमा स्नान गर्ने संस्कृति स्थापना भएको छ । मल्लकालमा रुद्रावती संरक्षणार्थ विनाजगमा प्यागोडा शैलीको ब्रम्हायणीको मन्दिर बनाइ जलमार्गको संरक्षण गरिएको छ । आराध्यदेवी ब्रम्हायणी माताको शीलासँगैको दुई वटा खाल्टोमा रुद्रवतीको प्रवाहलाई कहिलेकाहीँ देख्न सकिन्छ । बाह्रवर्षे मकर मासमा सो जल प्रवाह बढ्ने जनविश्वास छ । 

त्रेतायुगमा पवित्र भूमि (पनौती) मा एक महामानव राजकुमारको रुपमा जन्म भएका महासत्वले हिरण्यगिरी गन्धमान पर्वतमा हिंसक जनावर बघिनी र पाँच वटा डमरुलाई आफ्नै शरीर उत्सर्ग गरी बोधिसत्व प्राप्त गरी नमोबुद्धको नामले प्रसिद्धि पाए । 

द्वापरयुगमा यसको महत्व धेरै छ । नागराज वासुकीले राज गरेको; गौतम ऋषिले तपस्या गरेको; स्वर्गका राजा इन्द्रले लीलावती, पुण्यावती र रुद्रावती नदीको सङ्गम त्रिवेणीमा स्नान गरी मोक्ष प्राप्त गरेको पवित्र तीर्थस्थल उत्तम धाममा हरेक दिन स्नान गर्न द्वापरयुगमा राजा विराट आफ्नो निवास हालको खोपासी तल्लो बजारबाट ४० घोडेबग्गीमा सवार गर्ने किंबदन्ती छ । 

कलियुगमा पनि यो तपोभूमि हो । यस युगको पूर्वाद्ध लिच्छविकालमा राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त र ज्यापुश्री ललितसँग कामारु कामाक्ष गएका वासुकी नाग, करुणामय मच्छिन्द्रनाथ ल्याएपछि पाटनका ज्यापुसँगै गएर शङ्खमूल घाटमा बस्न गएका र पनौतीको ज्याःपुन्हि (जात्रा) को चार दिन पहिले हुरी–पानीसँग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनविश्वास अहिलेसम्म कायम छ । 

१२५५ जुन ७ तारिखको दिन काठमाडौँ केन्द्र बनाइ ७.८ रेक्टरको भूकम्पले काठमाडौँ तथा रोशी उपत्यकामा ठुलो क्षति पुग्यो । तात्कालीन नेपालका राजा अभयदेव मल्लले काठमाडौँ तथा रोशी उपत्यकाका भूकम्पपीडितहरुको उद्धार गर्न रोशी उपत्यकामा साँगा, नाला, बनेपा, धुलिखेल, चौकोट, खड्पु र पनौतीको बस्तीलाई विस्तार गरे । राजा अभयदेवले विस्तार गरेको पनौतीमा १३ औं शताब्दीमा कर्णाटक वंशीय राजा हरिसिंहदेवसँग आएका जयराम बरदान परिवारले इन्द्रेश्वरको मन्दिर, मन्दिरको टुँडालमा काष्ठकलाबाट चारयुग (सत्य, त्रेता, द्वापर र कली) झल्कने कलाकृतिको निर्माणगरी स्वर्णिमयुगको इतिहास रचेका थिए । 

सोह्रौं शताब्दीतिर काठमाडौँ उपत्यका, रोशी उपत्यका र यस आसपासका बस्तीहरुमा तन्त्र–मन्त्र प्रचलनमा आयो । तत्कालीन शासकले कृषि व्यवसायको अतिरिक्त देव, देवीको मूर्ति, मन्दिर, धारा, पाटी, पौवा, डबली, बाटो, खनिज पदार्थको उत्खनन् तथा प्रशोधनजस्ता सार्वजनिक सरोकार र सेवा क्षेत्रको विकास भएको पाइन्छ । यसै क्रममा इन्द्रेश्वर मन्दिर अगाडि–पछाडि सात कलात्मक नारायणहरु १) सत्यनारायण, २) लक्ष्मीनारायण ३) गौरीनारायण ४) शेषनारायण ५) सूर्यनारायण ६) श्रीकृष्णनारायण ७) तोलानारायणको मूर्तिहरु बने। इन्द्रेश्वर महादेवको पश्चिम र तोलानारायणको अगाडि ऋतुहरुको स्मरण गराउने अष्टमात्रिका, पृथ्वी प्राणी जिउन सम्भव बनाउने सूर्यनारायण सोभन्दा अगाडि अवस्थित शिवलिङ्ग जसलाई स्थानीयहरु देवताका पनि देवता महानारायण पनि भन्दछन् । 

त्रिवेणीमा हिन्दूहरुको उत्तमधाम बनाउन केदारनाथ, बद्रीनाथ, रणमुक्तेश्वर, पञ्चमुक्तेश्वर, राधा, कृष्ण, रुक्मिणी, दुईतह जलाधारसहितको शिवलिङ्ग, बासुकी नाग, ब्रम्हायणी, सितलामाई, वंशगोपाल, रामलक्ष्मण, संकटानारायण, मत्स्यनारायण, चारनारायण आदि देवदेवीहरुका मूर्ति र मन्दिर स्थापना भएका छन् । भारतस्थित चारधाम जान नसक्ने–नमिल्नेहरु यस त्रिवेणीधामलाई नै चारधाम तीर्थको रुपमा स्वीकार गरी सोही बराबरको आत्मिक एवं मानसिक सन्तोष र पुण्य मिलेको सुखानुभूति प्राप्त गर्छन् ।

अभय मल्लले बस्ती विस्तार गर्ने क्रममा ७०० धुरी पु र्‍याइएको सहरलाई १७ औं शताब्दीमा भूपतीन्द्र मल्लकी बहिनी पनौतीकी रानीको पालामा तान्त्रिक विधिद्वारा यात्राको प्रकृतिअनुसार सहर भित्र–बाहिर गर्न विभित्र स्थानमा लायकु, सि, कार्य आदिध्वाका (द्वार) बनाउनुका साथै सुरक्षार्थ सहर बाहिर अष्ट मात्रिकाका मानेश्वरी, काथंगणेश र ईतावरी र अन्य पाँचलाई सहरभित्र स्थापना गरेका थिए । 

त्रिवेणीको महिमा र महत्व बुझेका रानीले सहरका तान्त्रिक र अन्य स्थानका तान्त्रिक आचाजुहरुसँग सल्लाह गर्दा त्रिवेणीको विकासमा एक रातमा थप कार्य गर्न सके मानव जीवन मोक्षधाम बन्न सक्ने सुझाव प्राप्त भयो । उत्तमधाम बनाउने प्रयास गर्दा एक रातमा सुझाएका त्रिवेणीघाटको सम्पूर्ण विधि त पूरा गरे तर धामबाट उत्तरतर्फको हिमशृङ्खला दर्शन गर्नसक्ने व्यवस्थाका लागि प्रयास गरिरहेको अवस्थामा कुखुराको भालेले बिहान भएको सङ्केत दिएकाले सो काम सफल भएन । तसर्थ धर्मावलम्बीहरु बाह्रवर्षे मकर मेलामा त्रिवेणीको जल आफ्नो दायाँ हातको बुढीऔंला र नाडीबिचको खोबिल्डो वा दाहिने हातको हत्केलामा लिएर सुमेरु पर्वत (गोरखनाथ–डलिनचोक डाँडा) को सिरानीमा पुगेर हिमाल पर्वततिर फर्केर शिवको नाममा जल चढा प्रयाग तीर्थयात्राको कामलाई पूर्णता दिने गरिन्छ । 


नेचर गाइड तालिम

चराको संरक्षणसँगै पर्यापर्यटनलाई बढावा दिने पनौतीमा नेचर गाइड तालिम प्रदान गरिएको छ । पनौती नगरपालिकाको आयोजना र पंक्षी संरक्षण सङ्घ नेपालको सहयोगमा तालिममा १२ जना गाइड सहभागी थिए । नेपाल पंक्षी संरक्षण सङ्घका मोहन श्रेष्ठले पनौती नगरपालिकालाई चरा संरक्षित क्षेत्र घोषणा गरिएको परिवेशमा संरक्षणसँगै पर्यापर्यटनमा स्थानीयको सहभागिता बढाउन नेचर गाइड तालिमले राम्राे काम गरेको चर्चा गर्नुभयो । 

पनौती नगरपालिका चराका लागि उपयुक्त वासस्थान छ । १० महिना पहिले गरिएको सम्भाव्यता अध्ययनको क्रममा १२० प्रजातिका चराहरु देखिएका थिए । थप अध्ययनका लागि स्थानीयलाई नै सक्षम बनाउने उद्देश्यसहित तालिम दिइएको हो । 

पर्यटकका लागि सिटी गाईड 

पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् । यहाँको महत्वपूर्ण, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउन पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास केन्द्रले आवश्यक पहलकदमी अघि बढाएको छ । जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरभित्रका २२ जनालाई सिटी गाइड तालिम दिएसँगै काम थालेका छन् । 

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले यहाँका पर्यटकीय क्षेत्रको पहिचान गराउनुका साथै पर्यटकलाई सहज बनाउने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न लागिएको बताउनुभयो । “सिटी गाइडले पर्यटकलाई यहाँका ऐतिहासक, सामाजिक, सांस्कृतिक क्षेत्रबारेमा जानकारी गराउने छन” उहाँले भन्नुभयो । “पर्यटकसँग गर्ने व्यवहार, पर्यटन क्षेत्रको बजारीकरण तथा यसको विस्तारका लागि आवश्यक पर्ने योजनालगायत काम सिटी गाइडले गर्नेछन् ।” 

साइकल ट्रेल

ललितपुरको फुलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण भएपछि त्यसलाई साइक्लिङ गर्नेका लागि नयाँ ट्रेल थपिएको हो । 

‘अरु साइकल ट्रेलभन्दा यो निक्कै भिन्न छ । रोचकताले भरिपूर्ण रहेको यो ट्रेल विश्वकै उत्कृष्ट छ’ चन्द्रागिरिबाट साइक्लिङ गर्न काभ्रे पुगेका सुरेश अधिकारीले भन्नुभयो । अधिकारीले आफूहरुले धेरै साइक्लिङ गरे पनि यो राम्रो र स्वदेशी तथा विदेशीका लागि निक्कै राम्रो भएको बताए । साइकल लिएर फुलचोकी पुगेका बर्दियाका सन्दिप लम्सालले यो नेपालकै नमुना साइक्लिङ ट्रेल हुन सक्ने बताउनुभयो । 

पनौती नगरपालिकाले पर्यटन प्रवर्द्धन समितिमार्फत आठ लाख खर्च गरेर फुलचोकीदेखि पनौती २ गुर्दुम डाँडासम्म साइकल ट्रेल निर्माण गरेको उपप्रमुख गीता बञ्जाराले उल्लेख गर्नुभयो । पनौती नगरपालिका वडा २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले पनौती नगरपालिकाले पर्यटन क्षेत्र विकास गर्न धेरैभन्दा धेरै आन्तरिक र विदेशी पर्यटक ल्याउन यसले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।  

‘रकक्लाइम्बिङ’ मा उत्कृष्ट 

पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रकक्लाइम्बिङको सुरुवातले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ ।

एक पटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सक्नेगरी रातोपहरामा रकक्लाइम्बिङ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाले बताउनुभयो । उहाँका अनुसार साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी रकक्लाइम्बिङ गर्न सक्नेछन् । जर्मनबाट ल्याइएको एक हजार ‘बोल्ड’ किला रकक्लाइम्बिङका लागि पहराका भित्तामा गाडिएका छन् । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रकक्लाइमिङ गर्न सकिन्छ । वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरबाट विनियोजित १० लाख रुपियाँबाट हाल रकक्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार तयार गरिएको बताउनुभयो । उहाँका अनुसार यसमा ‘बेसवाल’ निर्माणलगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ ।

प्याराग्लाइडिङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी–फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको छ ।

दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको छ । तोकिएको समयमा ६ हजार पाँचसय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा झर्नेछ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने झर्ने स्थान बन्चरेटार एक हजार तीनसय मिटरमा छ ।