झापा, चैत २ गते । स्वस्थ जीवनशैली र साइकल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ५० जना युवाले झापाको १२ स्थानीय तहमा तीन दिवसीय साइकलयात्रा आज पूरा गरेका छन् ।
झापा साइकल क्लबको आयोजना र पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा फागुन ३० गते प्रारम्भ भएको यात्रा आज सम्पन्न भएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरोज कट्टेलका अनुसार ‘घुमौँ झापा–२०८२’ अन्तर्गत नेपाल र भारतका साइकलयात्रीले १२ वटा स्थानीय तहको १८५ किलोमिटर दूरी साइकलबाट पार गरेका छन् ।
साइकलयात्रीले घुम्ने क्रममा हरेक स्थानीय तहमा रहेका पर्यटकीयस्थल र धार्मिकस्थलको अवलोकन गरेका थिए । विभिन्न जातजातिका संस्कार र संस्कृतिका बारेमा समेत सो अवसरमा साइकलयात्रीले स्थलगत रूपमा जानकारी लिएका थिए ।
केही वर्षयता झापामा स्वास्थ्यका लागि साइकलयात्रा गर्ने र यात्रीहरू सङ्गठित हुने क्रम बढेको छ । जिल्लाभरका साइकलयात्रीले क्लब गठन गरेका छन् । साइकलबाट यात्रा गर्दा शारीरिक व्यायाम हुने र पर्यावरणमा प्रदूषण न्यूनीकरण गर्न सघाउ पुग्ने विषयमा साइकलयात्रीले स्थानीयवासीलाई जानकारी गराएका थिए । रासस