• २९ वैशाख २०८१, शनिबार

६७८ गर्भवतीको उद्धार

blog

काठमाडौँ, वैशाख १६ गते । सात वर्षमा दुर्गम क्षेत्रबाट ६७८ गर्भवती तथा सुत्केरीलाई उद्धार गरिएको छ । यसरी उद्धार गर्दा १५ करोड ९७ लाख ५७ हजार ४६१ रुपियाँ खर्च भएको छ । सो रकम हेलिकोप्टर प्रयोग गर्दा खर्च भएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट आर्थिक वर्ष २०७५/७६ देखि यही वैशाख ६ गतेसम्म सो रकम खर्च भएको हो । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय एकाइका प्रमुख निता शर्माले दुर्गम क्षेत्रबाट गर्भवती तथा सुत्केरी उद्धार कार्यक्रम १९ जिल्लामा पूर्ण रूपमा र २९ जिल्लामा आंशिक रूपमा लागु भएको जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा बढी हेलिकोप्टरमार्फत कर्णाली र कोशी प्रदेशका दुर्गम क्षेत्रबाट सुत्केरीको उद्धार गरेको बताउनुभयो । उहाँले यसरी उद्धार गर्दा प्रतिमहिला औसतमा दुई लाख ३५ हजार ६३० रुपियाँ खर्च भएको जानकारी दिनुभयो । अहिलेसम्म कर्णालीबाट २१९, कोशीबाट १९७, सुदूरपश्चिमबाट ११०, बागमतीबाट १०५, गण्डकीबाट ३५ र लुम्बिनीबाट १२ जनाको उद्धार भएको छ । 

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको मृत्यु भएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा निःशुल्क हवाई उद्धार कार्यक्रम सुरु गरिएको हो । उहाँले भन्नुभयो, “दुर्गममा धेरै सुत्केरीको ज्यान जान थालेपछि २०७३ देखि कार्यक्रम सुरु भयो । २०७५/७६ देखि कार्यान्वयनमा आयो । राष्ट्रपति उत्थान कार्यक्रम बाहिरबाट हेर्दा प्रभावकारी देखिन्छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले अध्ययन गरिरहेकाले प्रतिवेदन प्राप्त भएपछि मात्रै विस्तृतमा भन्न सकिने छ ।”

यस विषय अध्ययनमा संलग्न त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका अध्यापक डा. दीपकबहादुर अधिकारीले यो कार्यक्रम प्रभावकारी भएको तर पहुँचमा आउन नसक्दा मृत्यु हुने गरेको बताउनुभयो । उहाँले सामाजिक रूपमा यसको प्रभाव राम्रो भए पनि आर्थिक रूपमा महँगो हुनु स्वाभाविक भएको बताउनुभयो ।

उहाँले दुर्गम क्षेत्रबाट जोखिममा परेका सुत्केरीको उद्धार नेपाली सेनाको हेलिकोप्टरमार्फत गर्दै आएको बताउनुभयो । विशेष अवस्थामा निजी हवाई सेवाबाट पनि उद्धार गरिँदै आएको छ । सिम्रिक एरलाइन्सको हेलिकोप्टरबाट सात लाख २९ हजार ५१४ रुपियाँ खर्चेर बिरामी उद्धार गरिएको थियो । 

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना, २०७८/२०७९ मा १६९ जना, २०७९/८० मा १६७ जना र २०८०/८१ को वैशाख ६ गतेसम्म १२६ जनाको उद्धार गरिएको थियो । यीमध्ये के कतिको मृत्यु भयो भन्ने तथ्याङ्क उपलब्ध हुन सकेको छैन ।

नेपाली सेनाका प्रवक्ता गौरव केसीले सैनिक विमान सशुल्क उडान कार्यविधिबमोजिम शुल्क निर्धारण गरिएको बताउँदै हरेक वर्ष हेलिकोप्टरबाट बिरामी उद्धार गर्दाको भाडा निर्धारण हुने बताउनुभयो ।