• २५ पुस २०८१, बिहिबार

इरानी राष्ट्रपतिद्वारा सिरियाबाट इजरायली सेना फिर्ताको आग्रह

blog

इरानका राष्ट्रपति मसुद पेजेस्कियन

तेहरान, पुस २४ गते । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गर्नुभएको छ । 

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको तेहरान भ्रमणका क्रममा उहाँको यस्तो टिप्पणी आएको हो । भ्रमणका क्रममा व्यापार, सहयोग र सिरियाको हालैको घटनाक्रमबारे छलफल भएको थियो । 

“यहुदी शासनले कब्जा गरेको क्षेत्रहरूबाट फिर्ता लिनुपर्ने आवश्यकता र विशेष गरी शिया पवित्र स्थानहरू र तीर्थस्थलहरूको सम्बन्धमा धार्मिक भावनाहरूको सम्मान गर्ने महत्त्व चिन्ताको विषय थियो”, पेजेस्कियनले सुदानीसँगको ब्रिफिङमा भन्नुभयो । 

इरानी राष्ट्रपतिले सिरियामा ‘आतङ्कवादी सेलहरू पुनः सक्रिय हुने’ चेतावनी पनि दिनुभयो । 

सुन्नी इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोही सेनाको तीव्र आक्रमणपछि राजधानी दमास्कस कब्जा गरेपछि असद सिरियाबाट भाग्नुभएको थियो । 

उहाँको पतनपछि इजरायलले सिरियाली सैन्य सुविधाहरूमा सयौँ हवाई आक्रमण गरेको छ । इजरायलले रणनीतिक हतियारहरू शत्रुहरूको हातमा पर्नबाट रोक्ने उद्देश्य राखेको बताएको छ ।

इजरायली सेनाले सिरियाली–नियन्त्रित क्षेत्र र इजरायली–संलग्न गोलान हाइटलाई छुट्याउने संयुक्त राष्ट्र–नियन्त्रित बफर जोनमा रणनीतिक स्थानहरू पनि कब्जा गरेको छ । गोलान हाइटलाई इजरायलले सन् १९६७ अरब–इजरायली युद्धमा सिरियाबाट कब्जा गरेको थियो र त्यसबेलादेखि कब्जा गर्दै आएको छ । 

इरानले सिरियामा इजरायलको भूमि कब्जालाई निन्दा गरेको छ र यसको फिर्तीको माग गरेको छ ।

भ्रमणका क्रममा सुदानीले ‘सिरियाली जनताको इच्छाको सम्मान र बाह्य हस्तक्षेपबिना उनीहरूले आफैँ छनोट गर्ने कुनै पनि राजनीतिक वा संवैधानिक प्रणालीको समर्थन’ प्रति इराकको सम्मानलाई पुष्टि गर्नुभयो ।

उहाँले ‘सिरियाली जनताको इच्छालाई प्रतिबिम्बित गर्ने प्रणालीमा सहज शान्तिपूर्ण सङ्क्रमण हासिल गर्न सबै पक्षहरूसँग सहकार्य गर्न इराकको तत्परता’ को पनि उल्लेख गर्नुभयो । रासस, एएफपी