• २५ पुस २०८१, बिहिबार

फेदीखोलामा ‘एक विद्यालय, एक उद्यम’

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, पुस २५ गते ।  फेदीखोला गाउँपालिकाले ‘एक विद्यालय, अनिवार्य एक उद्यम’ कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएको छ । विद्यार्थीलाई उद्यम सिकाउने उद्देश्यले गाउँपालिकाले अभियानका रूपमा अगाडि बढाएको हो । 

विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक सिप सिकाएर उद्यममा जोड्नका लागि यो कार्यक्रम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । आधारभूत विद्यालयमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई र मावि भएका विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई उद्यम सिकाइने सुवेदीले बताउनुभयो । 

विद्यालयमा हप्ताको एक दिन विद्यार्थीलाई व्यावहारिक सिप सिकाउने तालिका बनाइएको र सो दिन विद्यार्थी किताब नलिई विद्यालय पुग्ने पालिकाका अध्यक्ष सुवेदीले बताउनुभयो । पहिलो चरणमा वडा नं. २ को महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा यो कार्यव्रmम अगाडि बढाइएको छ । यहाँ स्थानीय उत्पादन र उपलब्ध कच्चा पदार्थको प्रयोग गरी दुना, टपरी, कृषिजन्य उत्पादन तथा बाँटेको धूप बनाउन विद्यार्थीलाई सिकाउने गरिएको छ ।

विद्यालय सुधार योजनामा विद्यालयले उद्यमलाई समेट्नुपर्ने र गाउँपालिकाले आवश्यक सहयोग गर्ने सुवेदीले बताउनुभयो । एउटा विद्यालयलाई एउटा उद्यममा जोड्ने गरी गाउँपालिकाले सहयोग गर्ने उहाँको भनाइ थियो । विद्यालयलाई सम्भावित उद्यमको पहिचान गरी गाउँपालिकामा पेस गर्न भनेको बताउँदै अध्यक्ष सुवेदीले उद्यमकाबारेमा पेस भएसँगै अरू विद्यालयमा थालनी हुने बताउनुभयो । 

गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रमको शीर्षक बजेटबाट आवश्यक सहयोग र सहजीकरण गर्ने छ । फेदीखोला गाउँपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेको र विद्यालयमध्ये १० वटा मावि रहेका छन् । यहाँको भविष्यमा वडा नम्बर १ को चण्डीडाँडा मावि, वडा नम्बर २ को सिद्धार्थ मावि र कालाभैरव मावि, वडा नम्बर ३ को जनप्रिय मावि, ४ को जनआदर्श मावि, वडा नम्बर ५ को मैदान माविमा पनि ‘एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम’ लागु गरेर लैजाने तयारी पालिकाले गरेको छ ।