• २५ पुस २०८१, बिहिबार

छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस २४ गते । गोरखा जिल्लामा रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको छ । जिल्लामा रहेका ७ वटा सामुदायिक विद्यालयलाई छनोट गरी प्रति विद्यालय ५० हजारका दरले अक्षयकोष स्थापना गरिएको हो । 

जिल्लाभित्र सामाजिक सेवा गर्दै आएको गोरखा समाज सेवाले बारपाक सुलिकोट गाउँपालिकाको अन्तरज्योति मावि, गण्डकी गाउँपालिकाको तोमनडाँडा मावि, अजिरकोट गाउँपालिकाको धनसिरा मावि, सहिद लखन गाउँपालिकाको जनशक्ति मावि सिरानचोक गाउँपालिकाको मण्डली मावि, भीमसेन थापा गाउँपालिकाको सरस्वती मावि र गोरखा नगरपालिकाको गोरक्षनाथ बौद्धिक गुरुकुलमा अक्षयकोष स्थापना गरिएको गोरखा समाज सेवाका सचिव सुरेन लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै ७ वटै विद्यालयलाई ५० हजार नगद बराबरको चेक उपलब्ध गराइसकेकोले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेन्दार र अशक्त विद्यार्थीको छात्रवृत्तिको लागि अध्ययन गर्ने हौसला प्रदान गर्नको लागि सामुदायिक विद्यालयमा सहयोग गरिएको उहाँले बताउनुभयो । 

सामुदायिक विद्यालयहरुमा कम्प्युटर, कापी, कलम, झोला, स्वीटर र टोपी वितरण गर्दै आएकोमा अहिले भने अक्षयकोष स्थापनालगायत गोरखा नगरपालिकास्थित तीनधारेमा रहेको सबैभन्दा पुरानो त्रिभुवन पुस्तकालयलाई पनि ५० हजार नगद सहयोग गरेको गोरखाा सेवा समाजले जनाएको छ ।