बोमलाल गिरी
नवलपुर, पुस २५ गते । नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा चौधरी उद्योग ग्रामले सञ्चालन गरेको टुबोर्ग बियर उद्योगबाट निस्केको पानीमा कैफियत देखिएको छ । बियर फ्याक्ट्रीबाट निस्केको रसायनयुक्त पानी सिधै नारायणी नदीमा मिसिन पुगेको छ । नारायणीमा रसायनयुक्त पानी सेवन गर्नु परेका कारण जङ्गली जनावरले बासस्थान नै परिवर्तन गर्न थालेको समाचार गोरखापत्रले छापेपछि चितवन राष्ट्रिय निकुञ्जले पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाको रिपोर्टले पानीमा कैफियत देखाएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले रसायन मिश्रित पानीमा केही कैफियत देखिएको र यसको असर कस्तो हुने हो भन्ने विषयमा विज्ञहरूलाई थप अनुसन्धान गर्न लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जति सोचेका थियौँ । त्यति त देखिएको छैन तर असर छ ।”
यस विषयमा थप अनुसन्धान गर्नुपर्ने यहाँको भनाइ छ । अब यसबारेमा छिट्टै वन्यजन्तु अपराध नियन्त्रण एकाइ (डब्लुसिसिबी) को बैठक राखेर छलफल गरिने पन्तले बताउनुभयो ।
प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा डब्लुसिसिबी रहन्छ भने जिल्लामा डिभिजन वन कार्यालयका प्रमुखले नेतृत्व गर्छ । जसको प्रतिनिधिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र जनप्रतिनिधि रहेका हुन्छन् । डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले पुसको अन्त्यसम्ममा बैठक बसेर जिल्लाभरिमा भएका वन्यजन्तुको अपराधका विषयमा पनि गरिने बताउनुभयो ।
सिजी औद्योगिक ग्रामको वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माका अनुसार बियर कारखानाबाट निस्केको रसायन मिश्रित पानीले स्थानीय, पर्यटक र जनावरलाई समेत गम्भीर असर गरिरहेको छ । सिजी प्रशासनले नयाँ नबनाई बिग्रेको ब्वाइलरबाट काम चलाउने गरेको र मापदण्ड अनुसार मर्मतसम्भार नगर्दा धुलो, खरानी र केमिकल मिश्रित पानीले असर बढिरहेको छ ।
संयुक्त टोल विकास संस्थाका संयोजक ध्रुव न्यौपानेले बियर कारखानाबाट उत्पन्न भएको रसायनयुक्त केमिकलसहितको लेदो सिधै उद्योगको छेवैबाट बगेको करदह खोलामा मिसाइएको र त्यो गाउँबस्ती हुँदै करिब दुई किलोमिटर बगेर नारायणी नदीमा गएर मिसिएको बताउनुभयो । यसले स्थानीयका साथै दुर्लभ एकसिङे गैँडा र गोहीलाई असर पारेको संरक्षणकर्मी ढुण्डीराज केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले थोरै पानी निस्किँदा यतै सुक्थ्यो तर पछिल्लो केही वर्षदेखि ठुलो मात्रामा पानी नारायणीमा गएर मिसिएको छ । यसले नारायणीमा आश्रित जलचर र थलचर प्राणी मात्र नभएर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका पर्यटक र जनावरलाई असर गरिरहेको छ ।”
यसले गैँडाको स्वास्थ्यमा कस्तो असर ग¥यो भन्ने अध्ययन गर्न बाँकी नै भए पनि घडियाल गोहीले भने पछिल्लो समय आफ्नो बासस्थान नै परिवर्तन गरेको संरक्षणकर्मी केसीको भनाइ छ ।
सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले भन्नुभयो, “घडियाल सफा पानीमा बस्ने र माछा खाने जलचर प्राणी हो तर खोलामा लेदोसहितको पानी बगेपछि उसले बासस्थान बदलिरहेको छ ।” उद्योगका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले यस विषयमा उद्योगको ध्यानाकर्षण भएको र छिटै पूर्ण रूपमा ठुलो ब्वायलर (सिपिपी) प्लान्ट बन्द गरी मर्मत गरिने बताउनुभयो ।