• २७ वैशाख २०८१, बिहिबार

गोरखापत्रकर्मी ज्ञवालीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

blog

उत्कृष्ट पत्रकारिता पुरस्कार ग्रहण गर्दै गोरखापत्रकर्मी कपिल ज्ञवाली, प्रदान गर्दै महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायत।तस्बिर : गोरखापत्र

सिद्धार्थनगर,वैशाख १५ गते। गोरखापत्रकर्मी कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।नेपाल पत्रकार महासंघ रूपन्देहीको १२ औँ अधिवेशन तथा साधारणसभाका अवसरमा उहाँलाई सम्मान प्रदान गरिएको हो ।

ज्ञवाली बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ रूपन्देहीद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार– २०७९ बाट ५० हजार रुपिँया नगदसहित सम्मानित हुनुभएको हो ।

रुपन्देहीको सिद्धार्थनगर समाचारदाता रहनुभएका ज्ञवालीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल, उत्कृष्ट पत्रकारिता पुरस्कार छनोट तथा मूल्यांकन समितिका संयोजक यानेन्द्र जिसी, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल लगायतले नगदसहित सम्मान प्रदान गर्नुभएको हो ।

करिब दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारिता गरिरहनुभएका ज्ञवाली बुद्ध सामुदायिक टेलिभिजन र नागरिक अनलाइनमा समेत आबद्ध हुनुहुन्छ।सो अवसरमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आलोचनात्मक चेत सहितको पत्रकारिता गर्नुपर्ने बताउनुभयो।उहाँले राज्यले कहिले पनि पत्रकारका मुद्दालाई बोक्न नचाहेको भन्दै संसदमा पनि पत्रकारका एजेण्डामा सांसदहरु नबोलेको स्मरण गर्नुभयो ।

महासंघले हरेक वर्ष एक जना पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको सचिव बिनोद परियारले बताउनुभयो।उत्कृष्ट पत्रकारिता पुरस्कार- २०७८ बाट पत्रकार टीआर शर्मा सम्मानित हुनुभएको छ भने सिद्धार्थ श्रमजीवी पुरस्कारबाट दीपक घिमिरे सम्मानिन हुनुभएको हो।