• २७ वैशाख २०८१, बिहिबार

नहरमा पौडी खेल्न गएका बालकको डुबेर मृत्यु

blog

नहरमा डुबेका बालकलाई बाहिर निकालिएपछि । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १५ गते । 
बाँके जिल्लाको कोहलपुर नगरपालिका ६ रझेनामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

पौडी खेल्न भनी नहरमा दुई जनाले हाम फालेको र उनीहरू नहरमा डुब्न थालेको थाहा पाएपछि स्थानीयले एक बालकको उद्धार गरेको तर अर्का बालक भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले उद्धार गरेर नहरबाट बाहिर निकालेपछि ती बालक फरार भएपछि मृत बालकको पहिचान खुल्न समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘‘मृतक बालक को हुन् ? भन्ने अझै पत्ता लागेको छैन, वरिपरिका गाउँमा खबर गरेर सनाखत गर्ने प्रयास जारी गरेका छौँ ।’’

अहिले गर्मीको मौसम भएको र बिदाका दिन बालकहरू नहर तथा खोला र तलाउमा पौडी खेल्न जाने गरेकोले अभिभावकले सचेत भएर सो तर्फ ध्यान दिन आग्रह गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।