• १३ साउन २०८१, आइतबार

वीर गणेशमान बक्सिङ : मिनु क्वार्टरफाइनलमा

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख ६ गते । नेपाल आर्मीकी मिनु गुरुङ वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डलीमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा महिला ५१ केजीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गर्नुभयो । सोही स्पर्धामा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराउनुभयो । 

महिला ५७ केजीमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँदै क्वार्टरफाइनलमा पुग्नुभयो । 

पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । पुरुष ६३ केजीमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुनमगरले क्वार्टरफाइनलमा  स्थान सुरक्षित गर्नुभयो । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोविन प्रधानको चुनौती पन्छाउनु भएको थियो । 

पुरुष ६९ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सचिन शाक्य तथा लुम्बिनीका विकास रानामगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्नुभयो । पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाल्नुभयो । 

प्रतियोगिताको गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन अवसरमा १३औँ सागका स्वर्णधारी मिनुसहित भुपेन्द्र थापामगर, सनिल शाही र मिनु गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत एक एक लाख रुपियाँ पुरस्कार प्रदान गर्नुभएको हो ।