• २२ वैशाख २०८१, शनिबार

गमला र च्याउ बेचेर पढाइ खर्च जुटाउँदै

blog

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख १३ गते । रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–९ मा रहेको राडीज्युला शिक्षा क्याम्पसका विद्यार्थीले आफ्नो पढाइ खर्च आफैँ जुटाउन थालेका छन् । क्याम्पसमा सञ्चालित ‘कमाउँदै–पढ्दै कार्यक्रम’ मार्फत गमला उत्पादन र च्याउ खेती गरेर विद्यार्थीले आफ्नो पढाइ खर्च जुटाउन थालेका हुन् । 

क्याम्पसमा अध्ययनरत छात्रा दीपिका कुसारीले कमाउँदै पढ्दै कार्यक्रममा जोडिएर खर्च जुटाउन थालेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष क्याम्पसमा गमला बनाएको र यस वर्ष च्याउ खेती गरेर बिक्री गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गमला उत्पादन र च्याउ उत्पादन कार्यक्रममा फरक फरक विद्यार्थीहरू संलग्न छन् । यस कार्यक्रमले आफ्नो पढाइ खर्चमा ठुलो सहायता भएको उहाँको भनाइ छ । 

क्याम्पस प्रमुख तेजबहादुर मल्लले बिएडका चारै तहका केही विद्यार्थी कमाउँदै पढ्दै कार्यक्रममा जोडिएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष विद्यार्थीले बनाएका गमलाहरू स्थानीय सरकार, बजार र क्याम्पसमै बिक्री भएको बताउनुभयो । विद्यार्थीले निर्माण गरेका गमलाबाटै क्याम्पस परिसरमा विभिन्न थरिका फूल रोपिएको उहाँले जानकारी दिनुभयो । सुरुमा विद्यार्थीले २२५ भन्दा बढी गमला बनाएर प्रतिगोटा २५० का दरले बिक्री भएको क्याम्पसले जनाएको छ । अझै बिक्रीका लागि २० वटा रहेका छन् भने क्याम्पस परिसरमा ६० वटा गमलामा फूल रोपिएको छ । 

यस वर्ष पहिलो लटको च्याउ उत्पादन भएर बिक्री भइसकेको छ । पाँच जना विद्यार्थी अहिले दोस्रो लटको च्याउ उत्पादनमा लागेको क्याम्पस प्रमुख मल्लले बताउनुभयो । पहिलो लटको च्याउ उत्पादन कार्यक्रममा ४० वटा प्लास्टिक प्याकेट निर्माण गरिएको थियो । उत्पादन भएको ३० किलो च्याउ दुई सय रुपियाँका दरले बिक्री भइसकेको छ भने अर्को लटको च्याउ उत्पादन भइरहेको छ । 

पढ्दै गरेका विद्यार्थीलाई श्रम र सिपसँग जोड्दै पढाइ खर्च आफैँ जुटाउने यस कार्यक्रमको उद्देश्यका रहेको क्याम्पस प्रमुख मल्लले जनाउनुभयो । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मनिराज बटालाले विद्यार्थीले आफ्नो कापी, कलम र अन्य व्यक्तिगत खर्च आफैँ जुटाउन सक्ने भएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विद्यार्थीमा सिप र लगनशीलताको विकाससमेत भएको देखिन्छ । यसका साथै विद्यार्थीमा श्रमप्रति सम्मान गर्ने बानीको विकास भएको अध्यक्ष बटालाले उल्लेख गर्नुभयो । क्याम्पसले आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।