• २३ वैशाख २०८१, आइतबार

‘लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध’

blog

काठमाडौँ, वैशाख १३ गते । अर्थमन्त्री वर्षमान पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताउनुभएको छ । त्यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध पनि रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको बताउनुभयो । 

नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा उपस्थित ती प्रतिनिधिहरूले आफूहरू नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको र थप लगानी ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । हालसम्म वाणिज्य बैङ्कहरूसँग मात्र सहकार्य गर्दै आएकोमा आगामी दिनमा विकास बैङ्क र लघु वित्तमार्फत पनि लगानी गर्न चाहेको उहाँहरूको भनाइ थियो । 

उक्त संस्थाले नेपालमा हालसम्म बैङ्कहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि ६० करोड डलर लगानी गरेको छ । प्रतिनिधि मण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी), एसियन विकास बैङ्क (एडिबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेल्जियमको बिआईओ इन्भेस्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्विडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए । 

चालु आवको हालसम्म उक्त संस्थाले नेपालमा करिब १५ करोड डलर लगानी गरेको छ । सो संस्थाले आगामी वैशाखमा १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गरेको छ । 

यसअघि सोही प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग भेटेको थियो । त्यस क्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको थियो । केही दिनअघि मात्र अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका विभिन्न नौ वटा ऐन संशोधनको निर्णय गरिएको सो क्रममा उहाँले जानकारी गराउनुभयो ।