काठमाडौँ, वैशाख १२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताउनुभएको छ ।
मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक मङ्गलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकलाई विश्व अर्थतन्त्रबाट सृजित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”
निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्धिपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसनधान संस्था लगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरी अगाडि बढ्ने योजना आवश्यक देखिएको बताउनुभयो । उहाँले विश्व व्यापारका सन्दर्भमा सार्वजनिक–निजी संवाद कार्यक्रममा सबैलाई आआफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत् बहस तथा छलफलको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर ढङ्गले राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “डब्लुटिओको मान्यतामा हामी सहमत छौँ तर नेपालको सन्दर्भमा त्यो लागु हुन सकेको छैन, हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ, यो समस्याबाट हामी मुक्त हुन जरुरी छ ।” उहाँले विश्व बजारमा नेपालको उपस्थिति हुन नसकेको विषयमा मसिनो ढङ्गले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षा अनुसार सफलता नपाउँदा पनि विश्व व्यापारमा नेपालको उपस्थिति कमजोर भएको बताउनुभयो । “सरकारका तर्फबाट नीतिगत काम गर्नुपर्ने छ, हामी मन्त्रालयस्तरमा विश्व बजारमा कसरी जाने भनेर रणनीति तयार गर्दै छौँ, हामीले आफ्नो उत्पादनलाई बढाउने काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
सोही अवसरमा उद्योग सचिव कृष्णबहादुर राउतले विश्व व्यापार सङ्गठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले सही हिसाबले फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार सङ्गठनको सदस्य भएपछि आश्वासन पाए अनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताउनुभयो ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षीय महाशाखाका सहसचिव लीलाप्रसाद शर्मालगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताउनुभयो ।