• २४ असार २०८१, सोमबार

थपिए नयाँ उद्योग

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, वैशाख ६ गते ।  कोभिड–१९ महामारी नियन्त्रणमा आएपछि उद्योगधन्दामा लगानी बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा स्वदेशी लगानीका २२९ नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योगमा दुई खर्ब ६६ अर्ब १८ करोड रुपियाँ लगानी हुने उद्योग विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३९ अर्ब ३३ करोड रुपियाँ लगानीको १६९ उद्योग दर्ता भएका थिए । 

विभागका महानिर्देशक रामचन्द्र तिवारीले उद्योग व्यवसाय गर्ने वातावरण अनुकूल बन्दै गएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको बताउनुभयो । “विगतका वर्षमा कोभिडका कारण उद्योग व्यवसाय सञ्चालन हुन सकेको थिएन, लगानी गर्ने वातावरण अनुकूल बन्दै गएकाले उद्योगमा लागनी बढेको हो,” महानिर्देशक तिवारीले भन्नुभयो । 

विभागका अनुसार सबैभन्दा धेरै उत्पादनमूलक उद्योग दर्ता भएका छन् । सो अवधिमा उत्पादनमूलक उद्योग ८८, ऊर्जा ३५, पर्यटन ३९, सेवा ३७, कृषि तथा वन पैदावारमा आधारित उद्योग १७ वटा दर्ता भएका छन् । यसैगरी सूचना प्रविधिमा आधारित नौ, पूर्वाधारका तीन र खनिज उद्योग एउटा दर्ता भएका छन् । ती उद्योगबाट २१ हजार ५१६ जनाले रोजगारी पाउने प्रतिबद्धता  जनाइएको छ ।

लगानी वातावरण सुधार

नीतिगत र प्रक्रियागत सुधारसँगै उद्योगमा लगानी गर्ने क्रम बढेको हो । महानिर्देशक तिवारीले विद्यमान ऐन, कानुन, नियमावलीलाई समसामयिक सुधार गरेपछि लगानी गर्ने वातावरण बनेको बताउनुभयो । लगानी वातावरणका लागि सरकारले बजेट, योजना तथा नीति कार्यक्रम निर्माणमा प्राथमिकता दिएकाले पनि उद्योगमा लगानी बढ्दै गएको उहाँले स्पष्ट पार्नुभयो । 

कोभिडका कारण विगतका दुई वर्ष उद्योगमा लगानी बढ्न सकेको थिएन । महामारी नियन्त्रणमा आएसँगै वैदेशिक रोजगारीबाट फर्केर आएका युवाको आकर्षण उद्योग व्यवसायमा बढ्दै गएकाले उद्योग खोल्नेको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग सभापति भरत आचार्यले कोभिडका बेला धेरैको रोजगारी गुमेकाले उद्यमशीलता हासिल गर्न स्वदेशी उद्योगमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “उद्योग व्यवसायमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच बढेको छ । यसले गर्दा उद्योग दर्ता बढेका छन् । सङ्कटका बेला बजारमा आयातित वस्तु अभाव भएकाले स्वदेशमै उत्पादन गरेर बजार व्यवस्थापन गर्न सकिन्छ भनेर पनि यसतर्र्फ लगानीकर्ताको आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

विदेशी लगानीमा १५४ परियोजना

चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा विदेशी लगानीमा १५४ परियोजना दर्ता भएका छन् । ती परियोजना सञ्चालन गर्न ३३ अर्ब ३७ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४२ परियोजना दर्ता भएका थिए । त्यसका लागि २६ अर्ब १४ करोड लगानी प्र्रतिबद्धता आएको थियो । 

विदेशी लगानीमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका परियोजना दर्ता भएका छन् । विभागका अनुसार पर्यटन उद्योगमा ६२, सेवा क्षेत्रमा ५४, उत्पादन क्षेत्रमा २७, सूचना, सञ्चार तथा प्रविधिमा आधारित उद्योग छ, कृषि तथा वन पैदावारमा आधारित उद्योग चार र ऊर्जा क्षेत्रमा एक परियोजना दर्ता भएका हुन् ।  विदेशी लगानीमा दर्ता भएका परियोजनाबाट नौ हजार ११६ जनाले रोजगारी पाउने बताइएको छ ।