• १ साउन २०८१, मङ्गलबार

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

blog

जेनेभा, वैशाख ११ गते । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ ।

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ ।

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्युएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्ररूपमा तापक्रम बढिरहेको बताएको छ ।

“प्रतिवेदनको निष्कर्ष गम्भीर छ, यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्”, डब्ल्युएमओका प्रमुख सेलेस्टे साउलोले एक विज्ञप्तिमा भन्नुभयो, “जलवायु परिवर्तनले यस्ता घटनाहरूको आवृत्ति र गम्भीरतालाई बढाएको छ, यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्णरूपमा मानव जीवन र हामी बस्ने  वातावरणमाथि गहिरो प्रभाव पारेको छ ।”

एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ ।

“सन् २०२३ मा एसिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ”, डब्ल्युएमओले भनेको छ । सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो । यो सन् १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा एक दशमलव ८७ डिग्री सेल्सियसले अधिक थियो ।

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वी चीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दु कुश पर्वत शृङ्खलामा वर्षा सामान्यभन्दा कम भएको थियो ।

यसैबिच गत वर्ष दक्षिण पश्चिम चीनले खडेरीको सामना गर्नुपर्‍यो । वर्षको करिब प्रत्येक महिनामा यहाँ वर्षाको स्तर सामान्यभन्दा कम रह्यो । तिब्बती पठारमा केन्द्रित हाई–माउन्टेन एसिया क्षेत्र अर्थात् ध्रुवीय क्षेत्रबाहिर बरफको सबैभन्दा ठुलो मात्रा विद्यमान छ ।

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदीहरू पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेको छ भन्दै डब्ल्युएमओले यस क्षेत्रका निरीक्षण गरिएका २२ वटा हिमनदीमध्ये २० वटामा गत वर्ष लगातार सामूहिकरूपमा क्षति भइरहेको जनाएको छ ।

सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा बताइएको छ ।

गत वर्ष एसियामा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन् । तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए । यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

प्राकृतिक प्रकोपका घटनाहरूमा एसियाको संवेदनशीलतालाई लगातार उच्च जोखिममा राख्दै डब्ल्युएमओले भनेको छ, “सन् २०२३ मा रिपोर्ट गरिएका घटनाहरूमा मृत्युको प्रमुख कारण बाढी थियो ।”

हङकङमा सेप्टेम्बर ७ मा एक घण्टामा एक सय ५८ दशमलव एक मिलिमिटर वर्षा रेकर्ड गरियो । आँधीको परिणामस्वरूप सन् १८८४ मा रेकर्डहरू राख्न सुरु भएयता यो सबैभन्दा उच्च थियो ।

डब्ल्युएमओले विपद् जोखिम न्यूनीकरणमा काम गरिरहेका अधिकारीहरूलाई अनुकूल जानकारी सुधार गर्नका लागि यस क्षेत्रभर राष्ट्रिय मौसम सेवाहरूको तत्काल आवश्यकता रहेको बताएको छ ।

“हाम्रो कार्य र रणनीतिहरूले यो समयको जरुरीतालाई प्रतिबिम्बित गर्न आवश्यक छ”, डब्ल्युएमओका प्रमुख साउलोले भन्नुभयो, “हरित गृह ग्यास उत्सर्जन घटाउनु र विकसित जलवायुमा अनुकूलन गर्नुको विकल्प नभए पनि आधारभूत आवश्यकता हो ।” रासस/एएफपी