• २२ वैशाख २०८१, शनिबार

कामदारले पाएनन् ज्याला

blog

कालीकोट समाचारदाता

कालीकोट, वैशाख ११ गते । जिल्लाको नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना गाउँपालिकाको लैफु जोड्ने रणनीतिक सडकमा काम गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । कृषि सडक नाम दिएको अर्को प्रदेश जोड्ने रणनीतिक राजमार्ग अन्तर्गत पचालझरना गाउँपालिकाको वडा नं. ७ र ८ मा पर्ने सडकखण्डमा काम गर्ने मजदुरले ठेकेदारबाट ज्याला पाउन नसकेका हुन् ।

सडकमा काम गरेको जनही न्यूनतम छ हजारदेखि अधिकतम तीन लाख रुपियाँसम्म ज्याला नपाएको मजदुरको गुनासो छ । वडा नं. ७ का नेत्रराज बमले आफूले सडकमा काम गरेको २५ हजार रुपियाँ ज्याला नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी एकै समूहमा काम गर्ने १० जनाले काम गरेबापतको ज्याला पाएका छैनौँ ।” पचालझरना–८ का कुष्माखवर सन्ज्यालका अनुसार सडक निर्माणको जिम्मा लिएका ठेकेदारले आफूले काम गरेको ज्याला नदिएको बताउनुभयो । 

उक्त सडक निर्माणको ठेक्का गणेश निर्माण सेवाले लिएको छ । भौतिक पूर्वाधार कार्यालय कालीकोट मान्मले खोलेको ठेक्कामा गणेश निर्माण सेवाले सुर्खेतका अमर मजदुर निर्माण सेवाका सञ्चालक राजु सापकोटामार्फत पेटी ठेक्का लिएको छ । २०७८ सालमा काम गराएर अहिलेसम्म मजदुरको भुक्तानी नगरेपछि ज्याला पाउनुपर्ने माग गर्दै उनीहरूले गाउँपालिकाको न्यायिक समिति र प्रहरी चौकीमा उजुरी गरेका छन् । ती निकायबाट आफ्नो माग सुनुवाइ नभएपछि अब अदालतमा जाने तयारी भइरहेको मजदुरले बताएका छन् । ग्याबिन जाली लगाउने जिम्मा लिएका वसन्तवहादुर शाहीले आफूले सात लाख ५० हजार रुपियाँ ठेकेदारबाट लिन बाँकी रहेको बताउनुभयो । ठेकेदारलाई फोन गर्दा कहिले पाल्पा छु भन्ने, कहिले कतै भन्ने गरेकाले आफूहरू तीन वर्षसम्म पीडित बनेको उहाँले बताउनुभयो ।

यता गणेश निर्माण सेवाका सञ्चालक गणेशबहादुर शाहीलाई सम्पर्क गर्दा उहाँले मजदुरको फोन नउठाउने गर्दै आउनुभएको छ । उहाँ २०७४ मा खाँडाचक्र नगरपालिका–१ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।